काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाई हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ , तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पनि ढिलो हुने भएको छ ।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । आन्दोलनको टुंगो नलागे माध्यामिक शिक्षा परीक्षाको नतिजाका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने निश्चित छ ।