प्रतिवद्धताको गित गाउने तर फितलो कार्यान्वयन

राजनीति लेख

२०८१ सालको अन्तीम महिनाको अन्त्य तिर ३ वटा फरक खाले कार्यक्रम त्यो पनि फरक फरक जिल्लामा सहसभागी हुने मेसो मिल्यो । चैत्र २० सहकारी दिवस । चैत्रको २२ र २३ गते धादिङ्ग जिल्ला बेनीघाट रोराङ्ग गाउँपालिका वडा नं. २ मा सामुदायिक वनका पदाधिकारीहरुसँग अन्तरक्रियामा भाग लिएँ । चैत्र २५ गते ललितपुरको चापागाउँमा आयोजना गरिएको प्लाष्टिक व्यवस्थापनको सवालमा आधारित अभियानमा सहभागी भएँ । यी ३ वटै कार्यक्रम अभियानसँग सम्वन्धीत थिए । कुनै निर्दिष्ट कार्यक्रम वा परियोजना थिएनन् । यी छलफलहरुमा सम्वन्धीत अभियानको समिक्षा भयो । केही साझा वुझाइहरु तयार भए र सामुहिक अठोट समेत जाहेर भए । ती अठोटहरु कार्यान्वयनमा आउन् नयाँ बर्षको उपलक्ष्यमा शुभकामना ।

चराको गित
एक कथाको प्रसङ्गबाट सुरु गरौं । एक शिकारी ज¬ङ्गलमा जान्थ्यो । जाल फाल्थ्यो । चारा हाल्थ्यो । चराहरु जालमा फस्थ्ये । चरा बेच्थ्यो । जीवन चलाउँथ्यो । एक साधुले त्यो दृश्य देखे । शिकारीलाई चरा छाड्न आग्रह गरे तर उस्ले मानेन । बदलामा चरा बेचे वापत आउने पैसा दिने कुरामा सहमती भयो । चरा साधुले लिए, भने ¬‘चराहरु तिमिहरुलाई शिकारीले झुक्याउँछ त्यसैले तिमिहरु चनाखो बन ।’

भन्दै साधुले चराहरुलाई तालिम दिए । ‘शिकारी आउनेछ, जाल फाल्नेछ, चारा हाल्नेछ तैपनी हामी फस्दैनौं, फस्दैनौं ।’ भन्ने सिकाए । यो लाइन कण्ठ पारे चराहरुले । त्यही गित गाउँदै चरा वन तिर लागे, साधु खुुसी हुँदै कुटि तिर । केही दिनमा फेरी शिकारी आयो । चराहरुले ‘शिकारी आउनेछ, जाल फाल्नेछ, चारा हाल्नेछ तैपनी हामी फस्दैनौं, फस्दैनौं’ भन्ने गित गाइरहेका छन् । साधुले बर्वाद पारेछ भन्दै शिकारी निराश भयो । तैपनी कोसिस गरौं भन्दै जाल फाल्यो । दाना हाल्यो । चराहरु गित गाउँदै चारा खान आए । शिकारीले पोको पा-यो । बेच्यो । बगरेले काट्न थाल्यो तैपनि चराहरुले ‘शिकारी आउनेछ, जाल फाल्नेछ, चारा हाल्नेछ तैपनी हामी फस्दैनौं, फस्दैनौं’ भन्ने गित गाइरहे । कतै हाम्रा अठोट कथामा झै त भएका छैनन् ? मनन् गर्नु पर्ने भएको छ । यस विषयमा चर्चा गर्नु पूर्व विभिन्न अभियानमा संलग्नता र त्यहाँ व्यक्त प्रतिवद्धताको वारेमा चर्चा गरौं ।

सहकारी दिवसको अठोट
नेपालमा जनसहभागीतामूलक पद्धतीबाट सफल भएको एक अभियान सहकारी हो । २०१३ साल चैत्र २० मा पहिलो सहकारी दर्ता भएको अर्थमा हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । मुलकभर नैं विभिन्न कार्यक्रमहरु आयोजना गरि सहकारी दिवस मनाउने गरिन्छ । दोलखाको चरिकोटमा समेत एक कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति र सहकारीहरुका जिल्ला स्तरीय संघहरुको संयुक्त आयोजनामा अन्तरक्रियात्मक रहेको थियो । एक सय भन्दा वढि सहकारीकर्मीहरुको सहभागीता रहेको सो कार्यक्रमबाट ९ वुँदे साझा धारणा तयार भयो । प्रचलित कानून अनुसार सहकारी सञ्चालन गर्ने र सुशासन मापन गर्ने सूचक प्रयोग गरी २०८२ असारसम्म सुशासन परिक्षण गर्ने अठोट जाहेर गरियो । यी र यस्ता वुँदा लेखिएको एक पानामा उपस्थीतहरुले अठोट रुपी दस्तखत पनि धस्काइयो । उपस्थीत कसैले पनि दस्तखत गर्नबाट पछि हटेनन् ।

सामुदायिक वनको अठोट
जनसहभागिताबाट सफल भैं नेपाललाई विश्वमा चिनाउन सफल अभियानको सामुदायिक वन । मुलुकभर २३ हजार भन्दा वढि सामुदायिक वन उपभोक्ता समूहहरु गठन भैं २३ लाख हेक्टर भन्दा वढि वन क्षेत्र समुदायले व्यवस्थापन गरिरहेका छन् । यस्तो अभियानमा संलग्न एक वडाका पदाधिकारीहरुको भेला भएको थियो । धादिङ्ग जिल्लाको वेनीघाट रोराङ्ग गापा वडा नं. २ मा रहेका सामुदायिक वनहरु मध्ये १० वटा सामुदायिक वनका पदाधिकारीहरु भेला भए । स्थानीय सरकारकै सकृयतामा आयोजना गरेको भेलाको महत्व थियो । २ दिने भेलामा सामुदायिक वनको अवस्था विश्लेषण गरे । वन र जीवन जोडन नसकेकोमा चर्चा गरे । वन डढेलोले सत्यनाश पा¥यो । कानूनले भने अनुसार सामुदायिक वन चल्नु पर्दछ र चल्छौं भन्ने प्रतिवद्धता जाहेर भयो । लिखतमा दस्तखत चाँही गरिएन तर हरेक सामुदायिक वनहरुले अलगअलग प्रतिवद्धता लिखित रुपमा तयार पारे । सुनाए । समूहमा लगेर छलफल गरी कार्यान्वयन गर्ने अठोट व्यक्त गरे ।

प्लाष्टिक व्यवस्थापनमा अठोट
ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० मा रहेको चापागाउँ बजार क्षेत्रमा वन क्षेत्रका सरकारी तथा गैरसकारी निकायहरुका प्रतिनिधिहरु भेला भए । क्याम्पसका विधार्थीहरु थपिए । नारा सहितको ¥याली भयो । फालिएको प्लाष्टिक टिपियो । झोलामा हालियो । सम्वन्धीत ठाउँमा फालियो । यस अभियानमा गोदावरी नगरपालिकाको उपप्रमुखको सक्रियता रह्यो । वन सेवाका २ जना उपसचिवहरु लाग्नु भयो । हामी धेरै अभियानकर्मीहरु जुट्यौं । सामुहिक सवाद ग¥यौं । ४० माइक्रोन भन्दा कम मोटाइ भएका प्लाष्टिक प्रयोग गर्दैनौं । गुट्खा, भोला, परागको प्रयोग गर्दैनौं । चकलेट खाएमा त्यसको खोल गोजीमा राखेर फोहोर फाल्ने ठाउँमा फाल्नेछौं । बिस्कुट र चाउचाउ सकेसम्म प्रयोग गर्दैनौं गरे पनि खोल जताततै फाल्दैनौं । प्लास्टिकका कपमा चिया पिउँंदैनौं । पानी बोतलको प्रयोग गर्दैनौं गर्नैपरेमा बोतलको विर्कोको प्लाष्टिक र बोतलनै जथाभावी फाल्दैनौं । प्लाष्टिक प्रयोग गर्नै पर्ने अवस्था आएमा पुनः प्रयोगमा ल्याउने छौं । प्लाष्टिकका सन्दर्भमा नीति, व्यवहार र प्रविधिमा जोड दिनेछौं । यी र यसता प्रतिवद्धता जाहेर भए ।

आशा गरौ । यी अठोट पूरा हुन् । शंका गर्न खोजेको त हैन । तर एक वर्ष पछि फेरी यीनैं अठोट राखेर समिक्षा गर्ने हो भने कस्तो अवस्था आउला ? सार्वजनिक समारोहमा त प्रतिवद्धता जाहेर गर्दछौ तर व्यवहारमा ? प्रश्न वाचक चिन्ह नैं आउँछ । कथाका चरा जस्तैं हाम्रो हालत त भएको छैन ? सार्वजनिक समारोहमा अठोट गर्न छाड्दैनौं तर व्यवहारमा प्रयोग गर्दैनौं । अनी के काम भयो र ? हाम्रा अठोटहरु पनि त्यस्तै त हैनन् ? त्यस्तो नहुन् । हाम्रो अठोट पूरा हुन् । २०८१ मा भएका नराम्रा बानी छाडौं । अठोटलाई व्यवहारमा उतार्न सफल होऔं । नयाँ वर्ष २०८२ शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *