काठमाडौं । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी धरमपानीमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको बाप्र०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा १३ वर्षीय मानुषी मगर र ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । २९ वर्षीय चालक कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
गाडी सडकको मोडबाट करिब दुई सय मिटर तल खसेको छ ।