काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
उद्योगका निमित्त महाप्रबन्धक नवीन कुमार कर्णले उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुंगा तयार पार्न प्रारम्भ भएको जनाएका छन्।
दैनिक रुपमा ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य सहित एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने जनाइएको छ । २०३३ सालमा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा महाप्रबन्धक कर्णले नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उद्योगका समस्या समाधानमा सरकारले सघाउनेमा विश्वास व्यक्त गरेका छन्।