काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।
सोही अवसरमा आज काठमाडौंको स्वयम्भूनाथ मन्दिरदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा गरिएको छ । पदयात्रा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे, संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।