काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु हुँदा दुई जना भने गम्भीर घाइते भएका छन् ।
सो घटनामा परी चार जनाको मृत्यु भएको र दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउन लागेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकपटरमार्फत् काठमाडौं ल्याइँदै छ ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लाग्दा मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।