एनओसीले आधिकारिक नियामक निकायको पालना नगरेकोले विभिन्न १६ वटा बैंक खाता रोक्का

खेलकुद समाचार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल ओलम्पिक कमिटी (एनओसी) का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का गरेको छ ।

राखेपले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा एनओसीको खाता रोक्का गर्न विभिन्न ९ बैंकमा पत्राचार गरेको हो ।

ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो । नेपाल ओलम्पिक कमिटीले विधान संसोधन, विशेष साधारणसभा र निर्वाचन लगायतका विषयमा सम्मानित अदालतहरुबाट गरेको आदेशको पालना नगरेको र पटक–पटक पत्राचार गरेर निर्देशन दिँदा समेत आधिकारिक नियामक निकायको पालना नगरेकोले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्र गत चैत १० गते राष्ट्र बैंकलाई पत्राचार गरी एनओसीका बैंक खाताको विवरण मागेको थियो । मन्त्रालयको माग बमोजिम राष्ट्र बैंकले वैशाख ३ गते एनओसीका विभिन्न नौ वटा बैंकमा १६ वटा खाता रहेको भन्दै ती खाताको विवरण पठाएको थियो ।

त्यसपछि वैशाख ७ गते ती सबै बैंकमा रहेका एनओसीका खाता रोक्नका लागि पत्राचार गरिएको थियो । खाता रोक्का भयो कि भएन भनेर अनुगमन समेत गरिएको थियो । वैशाख ११ गते ९ वटै बैंकले आफू मातहत रहेका एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *