काठमाडौं । नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमणको जोखिम बढ्दो अवस्थामा रहेको पाइएको छ ।
मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा नं. २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएको बताएका छन् ।
चिकित्सकहरूले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशंकामा नमूना संकलन गरी परीक्षणमा पठाइएको बताएका छन् । साथै सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ ।भकुण्डेबेँसी क्षेत्रमा वितरित खानेपानी तथा बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरीलगायत खाद्यान्नका कारण सङ्क्रमण भएको आशंका गरिएको छ ।