पोखरेलको विदाइसँगै कटुवालको चुरीफुरी

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी युनियका अध्यक्ष गोपाल पोखरेल गत आइतबार जागिरे अवधि पुरा गरी अवकास प्राप्त भएका छन् । पोखरेल नेपाल कर्मचारी युनियको दुई कार्यकाल अध्यक्ष भएका थिए । पोखरेलले आफ्नो जागिरे अवधि सकिनु अगाडि नेपाल निजामती कर्मचारी युनियनको नवौं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्नुपर्ने थियो । तर, पोखरेल दुई कार्यकाल अध्यक्ष भए तापनि समयमा नवौं महाधिवेशन नगरी नेपाल निजामती कर्मचारी युनियनलाई अलपत्र पारेर जागिरे अवधि समाप्त गरी घर गएका छन् । पोखरेल निजामती कर्मचारीको जागिबाट अवकास प्राप्त भएपछि वर्तमान उपाध्यक्ष उत्तम कटुवालले कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

कटुवालले समयमा नेपाल निजामती कर्मचारी युनियनको निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्छन् कि कार्यबहाक अध्यक्ष बनेर खाइरहन्छन् त्यो पनि निश्चित छैन । पोखरेलले विगत लामो समयदेखि नेपाल निजामती कर्मचारी युनियनको आडमा अर्थमन्त्रालयमा बसेर अकुत सम्पत्ति आर्जन गरेसँगै संगठनलाई ध्वस्त बनाएको कर्मचारीको आरोप छ । पोखरेलले लामो समय कर्मचारी युनियनको नेतृत्व गर्दा कांग्रेसको सीमित गुटको घेराभन्दा बाहिर जान सकेनन् । पोखरेलले आफू जागिरबाट अवकास हुनु अगाडि नै कर्मचारी युनियनको नवौं महाधिवेशन गर्नुपर्ने थियो । कांग्रेसभित्रको गुटबन्दी हावी हुँदा पोखरेलले समयमा कर्मचारी युनियनको नवौं महाधिवेशन गर्न सकेनन् ।

उल्टै नवौं महाधिवेशनको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । त्यसले गर्दा नेपाली कांग्रेस निकट कर्मचारी युनियन अलपत्र परेको छ । समयमा महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्न नसकेको भनेर निवर्तमान अध्यक्ष पोखरेलमाथि चौतर्फी बिरोध भइरहेको थियो । पोखरेलले नेपाल निजामती कर्मचारी युनियनलाई चलायमान बनाउन नसक्दा कांग्रेस पार्टीले विभिन्न निर्वाचनमा हार खेप्दै आएको थियो । हुन त कांग्रेसले नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन मात्रै गर्न नसकेको होइन, अन्य भ्रातृ तथा सुभेच्छुक संघसंस्थाको पनि समयमा अधिवेशन गर्न नसकेर पार्टी संगठन नै लथालिङ्ग भइरहेको छ ।

निवर्तमान अध्यक्ष पोखरेलले संघीय निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका खेल्न नसकेको आरोप पनि त्यत्तिकै छ । हालका कार्यबहाक अध्यक्ष उत्तम कटुवाल र महासचिव जनक रावलबीच त्यत्तिकै टसल छ । कटुवाल र रावल दुवै भावी अध्यक्षका प्रत्यासी हुन् । कटुवाल र रावलबीच को अध्यक्ष बन्ने भन्ने होडवाजीले गर्दा नेपाल निजामती कर्मचारी युनियन नै ध्वस्त हुँदै गएको छ । आफ्नो दलनिकट कर्मचारी युनियनभित्र भाँडभैलो भइरहँदा पार्टी नेतृत्व र इतरपक्षका नेताहरु रमिते बनेर बसिरहेका छन् ।

कर्मचारीहरुले पनि कार्यालयको कामभन्दा राजनीतिमा बढी ध्यान दिने गर्दा नेपाली कांग्रेसबाट मन्त्री हुनेहरु दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । समयमा कर्मचारी युनियनको महाधिवेशन नुहँदा विभिन्न पदमा दावी गर्ने कर्मचारीहरु कांग्रेसका विभिन्न गुटका नेताहरुको चाकडी चाप्लुसी गर्ने, सरुवा बढुवामा खेलोफड्को गर्ने, आफ्ना आसेपासेलाई मालदार अड्डामा सरुवा गरेर पैसा असुल्ने धन्दा चलाउन थालेपछि कांग्रेसनिकट अन्य कर्मचारीहरु रुष्ट बन्न पुगेका छन् । तर, संगठनले त्यतातिर ध्यान दिन सकेको छैन । उल्टै संगठनका नेताहरु व्यक्तिगत फाइदाको लागि आ–आफ्नो तालमा दौडधूप गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *