काठमाडौं । कर्मचारी तन्त्रभित्र ‘कसैलाई खातैखात, कसैलाई पूर्पुरोमा हात’ भन्ने भनाइ चरितार्थ भएको छ । कतिपय सचिव र सह–सचिवहरु काम गर्ने अधिकार नपाएर बरन्डामा थन्किनुपरेको छ भने कतिपय सचिव र सह–सचिवहरु रोजीरोजी मालदार अड्डाहरुमा रमाइरहेका छन् । योग्यता, क्षमता र दक्षताभन्दा पनि शक्ति र पैसाको आडमा रमाउनेहरुको हालीमुहाली चल्ने गरेको छ ।
त्यसको उदाहरण लिन सकिन्छ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयलाई । यस मन्त्रालयमा सचिव रहेका छन् पुस्करहरि कर्ण र सह–सचिव कमल भट्टराई एकातिर छन् भने मन्त्री सरदसिंह भण्डारी अर्कोतिर रहेका छन् । श्रममन्त्रालयमा पहिला मन्त्री भण्डारीको हालीमुहाली चल्थ्यो भने अहिले सचिव कर्ण र सह–सचिव भट्टराईको रजगज चल्ने गरेको छ । वैदेशिक रोजगारमा दिनप्रतिदिन ठगीका घटनाहरु बढिरहँदा सचिव र सह–सचिवको उठ्तीधन्दा फस्टाइरहेको छ । श्रममन्त्रालयमा पुष्करहरि कर्ण सचिव भएर आएदेखि मन्त्री भण्डारीसँग टसल सुरु भएको छ ।
मन्त्री भण्डारी र सचिव कर्णबीचको टसल हुनुको मुख्यकारण लेनदेन नमिल्नुनै हो । सचिव कर्णले वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई विभागबाट हटाएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव जीवलाल भुसाललाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएका थिए । भुसाललाई महानिर्देशक बनाएर पठाए तापनि विवादमा परिने डरले उनी वैदेशिक रोजगार विभागमा गएनन् । भुसाल नगएपछि श्रम विभागका सह–सचिव कमल भट्टराई वैदेशिक रोजगार विभागको महानिर्नेशक बनाएर पठाइएको छ ।
उता श्रम विभागमा भने चक्रपाणि पाण्डेलाई पठाइएको छ । करिव पन्ध्रदिनको हाराहारीमा भट्टराई श्रम र वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न भ्याए । अहिले वैदेशिक रोजगार विभागमा सचिव कर्ण र सह–सचिव भट्टराईको सेटिङमा कमाउधन्दा चलेको छ । सचिव कर्णले पहिला अर्थमन्त्रालयमा बसेर भन्सार र राजश्व विभागमा सेटिङ मिलाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । अर्थमन्त्रालयमा सेटिङ मिलाउन माहिर कर्ण अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा सेटिङधन्दा चलाइरहेको स्रोतको भनाइ छ । उनीसँगै अर्का सेटिङमा माहिर सह–सचिव रहेका छन् कमल भट्टराई । भट्टराई २०७१ सालमा सह–सचिवमा बढुवा भएका थिए ।सहसचिवमा बढुवा भएपछि उनी वाणिज्य तथा आपूर्तिमन्त्रालयमा पुगे ।
त्यहाँबाट फेरि पर्यटनमन्त्रालयमा गए । पर्यटनबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय जान सफल भए । त्यहाँबाट फेरि परराष्ट्रमन्त्रालयतिर हानिए । परराष्ट्रबाट हङकङको वाणिज्य दूत हुन पुगे । वाणिज्य दूतबाट फर्किएपछि फेरि पर्यटनमन्त्रालयमै पुगे । पर्यटनबाट कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय सूर्खेत गए । सूर्खेतबाट कोशी प्रदेशको सचिव भएर मोरङ सामजिक विकासमन्त्रालयमा पुगे । कोशीबाट फर्किएपछि अर्थमन्त्रालय, भन्सार विभागहुँदै सार्वजनिक वित्तीय तालीम केन्द्रमा आइपुगे ।
त्यसपछि संघीय मामिलाहुँदै सम्पत्ति सुद्धिकरणको महानिर्देशक बन्न भ्याए । सरकार परिवर्तन भएपछि सूचना आयोगमा पुगे । सूचना आयोगबाट सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा पुगेर वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न भ्याएका छन् । एउटै व्यक्ति कार्यालयदेखि त्यसको नियमक निकाय सम्पत्ति सुद्धिकरणसम्मको प्रमुख भएर घुमिरहन्छन् भने देशमा कसरी हुन्छ सुशान ? कमल भट्टराईजस्ता अवसरवादी सह–सचिवको हामीमुहालीले गर्दा कर्मचारीतन्त्र नै तहनहस हुन पुगेको बताइन्छ ।