काठमाडौं । नेपाली सेनाभित्र विगत लामो समयदेखि विभिन्न काण्डहरुको पर्दाफाँस हुँदै आएका थिए । त्यसमा कहिले नागरिक, कहिले नक्कली सठिफिकेटका काण्डहरु बाहिरिदै आएका थिए । त्योसँगै रासन, हातहतियार र पोशाक खरिदमा भएको अनियमितता र भ्रष्टाचारका समाचारहरु सञ्चारमाध्यममा आइरहन्छ । सञ्चार माध्यममा समाचार आएपछि सेना भित्रको समाचार कसरी बाहिरियो भनेर सेनाभित्रै छानविन हुने गर्दछ ।
समाचार दिने व्यक्ति पत्तालागेको खण्डमा उसलाई कारबाहीसँगै बढुवा पनि रोकिन्छ । नेपाली सेनाभित्र पछिल्लो समयमा आएर राष्ट्रको सुरक्षामा खटिनु पर्ने सेना नेपाली सेना नाफामुलक व्यवसायतिर अग्रसर भइरहेको देखिन्छ । विभिन्न ठाउँका सडक निमार्णदेखि अन्य आयोजनाको ठेक्कापट्टामा पनि सेनाले आफूलाई अग्रसर बनाउँदै लगेको छ । उत्तरी र दक्षिण दुवै शक्तिशाली छिमेकी मुलुकसँग सुरक्षा चुनौतिको सामना गर्नुनपर्ने नेपाली सेनाले देश र जनताको हितमा काम नगरी नाफामुलक व्यवसायमा चासो देखाउँदै आएको छ ।
नेपाली सेनाले व्यवसायिक ठेक्कापट्टा गर्न थालेको निकै लामो समय भइसकेको छ । तर, हालका प्रधानसेनापति अशोक सिग्देलले नेपाली सेनाले गर्ने ठेक्कापट्टा तथा सप्लायर्सका लागि कन्ट्रयाक्ट मिलाउने जिम्मा आफ्नै सम्धीलाई दिएको बताइन्छ । स्रोतका अनुसार पुराना गाडी (रिकन्डीशन) को खरिदविक्रीको काम गर्ने यादव कुँवरलाई नेपाली सेनाभित्र हुने सबै किसिमका खरिदविक्री तथा सप्लाईको एजेन्टलाई घरघरमै गएर भेट्ने र काम लिने र कमिसन दिने काम अघोषित रुपमा गर्दै आएका छन् । कुँवरलाई एजेन्टको रुपमा नियुक्ति गरिएको आर्मी हेडक्वाटरभित्र व्यापक चर्चा चल्न थालेको छ ।
प्रधानसेनापति सिग्देलका छोराले विवाह गरेपछि रिकन्डीशन धन्दामा सक्रिय साङ्लेखोलातिरका यादव कुँवरको यतिबेला धन्दा परिवर्तन भएको छ । हिजोआज उनको दैनिकी नेपाली सेनाभित्र हुने ठेक्कापट्टा तथा सप्लाईको एजेन्टसँग मिटिङग गर्ने र उनीहरुसँग स्वार्थपूर्ण डिल गर्नमै फुर्सद छैन । आफ्नो प्रस्ताव स्वीकार्य भए काम मिलाइदिने भन्दै कुँवरले ती एजेन्टसँग अग्रिम मोटो रकम असुल्ने गरेको स्रोतको भनाइ छ । त्यसरी रकम बुझाउनेहरुकै प्रस्ताव अनुसार ‘इस्पेसिफिकेशन’ अनुरुपको ठेक्का स्वीकृत गरिदिन थालेपछि यतिबेला आर्मी हेडक्वाटरमा भएको सम्धी–सम्धी गठजोडले व्यवसायीबीच खैलाबैला मच्चाएको छ ।
एजेन्टबाट मोटो रकम हात पारेपछि सम्धी कुँवरकै प्रस्ताव अनुसार कसलाई कुन ठेक्का वा सप्लाईको काम दिने हो, त्यो पूर्व योजना अनुसार नै ठेक्का उपलब्ध गराउन थालिएपछि प्रतिस्पर्धाका नाममा गरिने विज्ञापनलाई ‘कुरीकुरी’ जस्तै पारिएको छ । ‘इस्पेसिफिकेशन’ अर्थात् स्याम्पल परीक्षणका नाममा ल्याव टेस्टबाटै प्रतिस्पर्धीको प्रस्ताव अस्वीकृत गराएर स्वार्थअनुसार ठेक्का उपलब्ध गराइदिन थालेपछि आर्मी हेडक्वारभित्र खैलाबैला मच्चिन थालेको मात्रै छैन, प्रधानसेनापति सिग्देलमाथि नैतिकताको प्रश्न खडा भएको छ ।
स्मरणीय रहोस्, तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीलाईसमेत यीनै कुवँरले चारित्रिक विवादमा पारेका थिए । कुँवरकै योजना अनुसार सेनापति निवास ललितपुरस्थित शशी भवनमा भूकम्पको बेला भएको क्षतिको पूनर्निर्माण उनकै सिफारिस गरेको निर्माण कम्पनीलाई दिँदा ठूलो मात्रामा आर्थिक हिनामिना भएको थियो । त्यो हल्ला अझै पनि आर्मी हेडक्वारभित्र सेलाउन नपाउँदै अहिले सम्धी–सम्धीको गठजोडले आर्मी हेडक्वाटर आर्थिक सवालमा आलोचित बन्दै गएको छ । त्यसले गर्दा सेनापति सिग्देलको भित्रभित्रै बदनाम हुँदै गएको छ । प्रधानसेनापति हुनु अगाडि पनि उनै सिग्देलको नागरिकता र नक्कली सठिफिकेटको व्यापक विवाद भएको छ । नागरिकता र योग्यतासम्बन्धी विवादका बाबजुद पनि सिग्देल प्रधानसेनापति बन्न सफल भएका थिए ।