काठमाडौं । क्याथोलिक ईसाई धर्मगुरु पोप लियो १४औं ले आइतबार भ्याटिकन सिटीबाट पहिलो पटक सम्बोधन गरेका छन् ।
आफ्नो पहिलो सम्बोधनमा उनले विश्वका शक्तिशाली देशहरूलाई ‘अब युद्ध नगर्न’ अपील गरेका छन् । विश्वमा जारी द्वन्द्वको बारेमा बोल्दै पोप लियोले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा कुरा गरे। यसका साथै उनले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गरे । उनले गाजामा भइरहेका घटनाहरूबाट आफूलाई गहिरो दुःख लागेको बताए ।
पोप लियोले भारत र पाकिस्तान बीच दिगो मेलमिलापको आशा व्यक्त गरे र युक्रेनको लागि ुसाँचो, वास्तविक र दिगो शान्तिु को कामना गरे । पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित भएका थिए ।
आफ्नो भाषणमा, उनले पोप फ्रान्सिस जस्तै शान्तिको लागि अपील गरे र भने,‘विश्वका सबै शक्तिशाली व्यक्तिहरू सुन्नुहोस्, अब युद्ध होइन । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष भइसक्यो, तर अब हामी विश्वका साना भागहरूमा तेस्रो विश्वयुद्धको त्रासदीको सामना गरिरहेका छौं ।’