काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा नेपालले समूहको दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । समूह ‘बी’ बाट यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल र भारतबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।
भारतले पहिलो खेलमा श्रीलंकालाई ८-० ले पराजित गरेको थियो । यस्तै नेपालले श्रीलंकालाई ५-० ले हराएको थियो । लगातार दुई हारपछि श्रीलंका बाहिरिँदा नेपाल र भारत एक खेल अगावै अन्तिम चारमा पुगेका हुन् । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ ।
समूह विजेता बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ भने भारतलाई बराबरी गरे पुग्छ ।