काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् ।
ट्रम्पले मंगलबार साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए ।
ट्रम्पले साउदी अरेबियाको यो भ्रमण यस्तो समयमा गर्दैछन् जब उनको ट्यारिफले विश्वभर अशान्ति मच्चाएको छ । अमेरिकाको आर्थिक उत्पादन यस वर्षको पहिलो तीन महिनामा घटेको छ, जुन पछिल्लो तीन वर्षमा पहिलो गिरावट हो ।
त्यसपछि उनी मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन् ।
खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।
साउदीको सार्वभौम सम्पत्ति कोष र सार्वजनिक लगानी कोष (पीआईएफ)मा नौ सय २५ बिलियन रकम छ ।
साउदीले यस कोषमार्फत अमेरिकामा धेरै लगानी गरिसकेको छ । साथै, युएईले पनि आगामी दश वर्षमा अमेरिकाको एआई, सेमिकन्डक्टर, ऊर्जा र पूर्वाधार क्षेत्रमा एक दशमलव चार ट्रिलियन डलर लगानी गर्ने इच्छा पनि व्यक्त गरेको छ ।