काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको समाचार बाहिर आइरहेकोले यो विषयमा छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग गर्दै उनले सभामुखमार्फत् प्रधानमन्त्रीलाई जानकारी गराउन आग्रह गरेकी छिन् ।
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शर्माले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको हकमा रेफरल सेन्टर बनाइएकोमा पनि आपत्ति जनाइन् ।
साथै माओवादी सांसद दुर्गा राईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घूस डिल गरेको अडियो बाहिरिएकोबारे प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विषय भएको बताइन् । कुनै मन्त्रीको विवाद भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय भएको उनको भनाई थियो ।
मालपोतको कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीका उपाध्यक्ष बनाउन भूमिसुधार मन्त्रीसमेत जोडिएकोले सामान्य प्रशासन मन्त्री र भूमिसुधार मन्त्रीको बारेमा प्रधानमन्त्रीले सदनमा जवाफ दिन सभामुखको रुलिङको माग गरिन् ।

