रामचन्द्र बस्नेत
२०४६ सालको प्रजातन्त्र पुनस्र्थापनादेखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिक दलहरुको भागबन्डाले गर्दा देशमा सुशासन भन्दा कुशासन हावी हुँदै गएको छ । न्यायालय, अख्तियार, महालेखा, निर्वाचन आयोग, राष्ट्र बैंक, सुरक्षा निकायलगायतका महत्वपूर्ण ठाउँहरुमा राजनीतिक भागबन्डा हुने गरेकाले देशमा झन् विकृति, विसंगति र भ्रष्टाचार फास्टाउँदै गएको छ । यस्ता संवैधानिक निकायहरुमा कर्मचारी भन्दा बाहिरबाट स्वतन्त्र र विज्ञ व्यक्तिहरु खोजेर नियुक्ति गरेको खण्डमा निष्पक्ष काम हुने आँकलन बुद्धिजीवीहरुले गर्न थालेका छन् ।
संवैधानिक निकायमा राजनीतिक दलनिकट कर्मचारीहरु नियुक्ति भएकै कारण ठूला–ठूला भ्रष्टाचारका काण्डहरु दबानउने काम हुँदै आएको छ । संवैधानिक निकायमा पूर्वप्रशासकहरुलाई नियुक्ति गर्ने चलनले गर्दा उनीहरुले गरेका कालाकर्तुहरु लुकाउने मौका पाएका छन् । दलनिकट व्यक्तिहरु संवैधानिक निकायमा पुग्ने भएकाले राजनीतिक नेता र मन्त्रीहरुले गरेको ठूला–ठूला भ्रष्टाचार र अनियमितताका काण्डहरु लुकाउने काम भइरहेको छ । त्योसँगै विभिन्न काण्डमा मुछिएका व्यक्तिको छानविन समिति गठन गरिन्छ ।
त्यस्ता समितिमा पनि यिनै राजनीतिक दलनिकट व्यक्ति र भ्रष्ट प्रशासकहरुलाई राखिन्छ । त्यस्ता छानविन समितिहरुबाट असुलिधन्दा चलाएर दोषीलाई उम्काउने काम भइरहेको छ । नेपालमा प्रजातन्त्र पुनस्र्थापनापछि भ्रष्टाचारीलाई कारबाही गर्न, सम्पत्ति छानविन गर्न संवैधानिक आयोगहरु गठन गरिएका छन् । ती संवैधानिक आयोगहरुमा पहिला विभिन्न क्षेत्रमा काम गर्दा व्यापक भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई प्रमुख बनाउँदा उनीहरुले गर्दै आएका कालाकर्तुत लुकाउने काम भइरहेका छन् । त्यस्ता संवैधानिक निकायका प्रमुखहरुले भ्रष्टाचारको उजुरी परेका व्यक्तिहरुलाई तर्साएर अकुल सम्पत्ति आर्जन गर्ने थलो बनाएका छन् । त्यसले गर्दा पूर्वप्रशासकहरुलाई संवैधानिक निकायमा प्रमुख बनाउनु नहुने विश्लेषकहरुको भनाइ छ ।
राजनीतिक दलहरुले देशलाई भ्रष्टाचारमुक्त बनाइ सुशासन कायम गर्ने हो भने पूर्वप्रशासक संवैधानिक निकायको प्रमुखमा नियुक्ति गर्न बन्देज गर्नुपर्छ । तर, नेताहरुले आफ्नो बँचाउको लागि विभिन्न निकायमा बसेर कुनै न कुनै काण्डमा मुछिएका व्यक्तिहरुलाई छानीछानी संवैधानिक आयोगहरुमा नियुक्ति गर्दै आएका छन् । त्यसले गर्दा संवैधानिक निकायहरुको नाम अनुसारको काम हुन सकेको छैन । बरु उल्टै भ्रष्टाचारीलाई चोख्याउने थलो बन्ने गरेका छन् ।