तीनमन्त्रालयका कर्मचारीबीच भाँडभैलो, मन्त्री लम्साल अनुगमनमा व्यस्त

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले छुट्टाछुट्टै कार्यक्षेत्र रहेका भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र सहरी विकास मन्त्रालयलाई गाभेर पूर्वधार विकास मन्त्रालय बनाएको छ । सहरी, भौतिक र खानेपानी मन्त्रालयमा सबैभन्दा बढी बजेट हुने गर्दछ । यी मन्त्रालयहरुलाई पहिलादेखि नै मालदार मन्त्रालयको रुपमा लिने गरिन्थ्यो । ती तीनमन्त्रालय छुट्टाछुट्टै हुँदा त ठूलो मात्रामा बजेट हिनामिना हुने गथ्र्यो भने अहिले तीनवटैलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाएर सम्पूर्ण बजेट एकैठाउँमा थुपारिएको छ । छुट्टाछुट्टै कार्यक्षेत्र भएका मन्त्रालयहरुलाई एउटै मन्त्रालय बनाउँदा कर्मचारीहरुले कामको भेउ पनि पाउन सकेका छैनन् । अहिले पूर्वाधार विकासमन्त्री रहेका छन् सुनिल लम्साल । मन्त्री लम्साल प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का विश्वास पात्र हुन् । प्रधानमन्त्री साह निकट भएकै कारण तीनवटा मालदार मन्त्रालय गाभेर बनाइएको शक्तिशाली पूर्वाधार विकास मन्त्रालयको जिम्मा मन्त्री लम्सालले पाएका छन् ।

तीन–तीनवटा मन्त्रालय गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइए तापनि विकास निर्माणको काममा मन्त्री लम्सालले कुनै माखो मार्न सकेका छैनन् । सरकारले १०० दिन पुरा गरिसक्दा पनि पूर्वाधार विकास मन्त्रालयको काम सून्यजस्तै छ । एकातिर बजेट अभाव देखाइएको छ भने अर्कोतिर काम गर्ने भेउ पाउन सकेका छैनन् । त्योसँगै निर्माण व्यवसायीहरुले हरेक निर्माण सामग्रीको अत्याधिक मूल्य वृद्धि भएको भन्दै निर्माणको काम गर्न सकेका छैनन् । मन्त्री लम्साल भने आर्थिक वर्षको अन्त्यतिर पारेर अनुगमनको नाममा देशदौडामा घुमिरहेका छन् । केही साताअघि मन्त्री लम्साल पूर्वी क्षेत्रको अनुगमन गर्दै ताप्लेजुङसम्म पुगेका फर्किएका थिए । त्यसको हप्ता दिन पुग्दै फेरि गत शुक्रवासर चितवनहुँदै पश्चिमको कोरला नाकासम्म अनुगमन गरेर फर्किएका छन् । काम गर्ने बेलामा बेजट निकासा गर्न नसक्ने तर, आर्थिक वर्षको अन्तिमतिर अनुगमनको नाममा नाटक मञ्चन गरेर निर्माण व्यवसायीलाई तर्साउने र सर्वसाधारणको आँखामा छारो हाल्ने काम मन्त्री लम्सालले गर्दै आएका छन् ।

पूर्वाधारण विकासमन्त्री लम्साल अनुगमनको नाममा ठेकेदार र कर्मचारीलाई तर्साउँदै हिडेका छन् भने तीनवटा छुट्टाछुट्टै मन्त्रालय एकैठाउँमा गाभिएपछि कर्मचारीहरु बीच भाँडभैलो मच्चिएको छ । एकातिर विषयविज्ञको विवाद छ भने अर्कोतिर पोटफोलियोमा को ठूलो भन्ने विवाद त्यत्तिकै चर्चिएको छ । फरक–फरक जिम्मेवारी भएका मन्त्रालयलाई एउटै बनाएपछि कामको बाँडफाँटमा पनि अलमल सिर्जना भएको छ । अर्कोतिर सरकारले कर्मचारीभित्र ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको हल्ला चलाएपछि अधिकांश अनुभवी, योग्य कर्मचारीहरुले पदबाट राजीनामा दिएर बाहिरिएका छन् । राजीनामा दिनेमा सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झा, मेकानिक इन्जिनियर सुई.अमन चित्रकार, उप–सचिव विशेष घिमिरे, नासु रामहरि देवकोटा र मनकुमारी पोख्रेल रहेका छन् । यिनीहरु सडकमा अनुभवी कर्मचारीमा गनिन्थे । अझ खानेपानी र सहरी विकास मन्त्रालयअन्तर्गतका कुन–कुन कर्मचारीले राजीनामा दिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *