काठमाडौं । गभर्नर नियुक्त गर्न लागिएका अर्थशास्त्री डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ ।
नेपाल राष्ट्र बैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । अभिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गर्दै राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ । पौडेललाई गभर्नर बनाउने सहमति जुटेपछि उनले आइतबार गभर्नर छनोट समितिको विज्ञ सदस्यबाट राजीनामा दिएका थिए । यसअघि गभर्नर बनाउन सहमति जुटेको भनिएका डा.गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो ।