काठमाडौं । आजदेखि शुरु भएको ‘सगरमाथा संवाद’ जेठको चार गतेसम्म चल्ने भएको छ ।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ शुरु भएको हो । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी भएका छन् । उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको छ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिएका छन् ।
राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने बताइएको छ ।
सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ ।