काठमाडौं । पौवादुङमाका किसान व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती तर्फ आकर्षित भएका छन् ।
अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि करिब नौ सय कृषकले पाँच सय हेक्टर क्षेत्रमा व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेको पौवादुङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । गत वर्ष खोर्सानी बिक्रीबाट करिब १८ करोड रुपैयाँ भित्रिएको तथ्याङ्क रहेको छ । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट ३० देखि ३५ करोड रुपैयाँ भित्र्याउने लक्ष्य रहेको छ ।
स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम एक लाख ५० हजार रुपैयाँदेखि सात लाखसम्म भित्र्याउने गरेका छन् ।