काठमाडौं । नारायणगढ-बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ ।
आयोजनका अनुसार नारायणगढ-बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको जानकारी दिएको हो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।
समग्रमा सडक निर्माणको कामको कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ । पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेकोले हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने भएको छ । भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको छ ।