काठमाडौं डिभिजनले अधिकांश सडकहरुलाई मर्मत सम्भार गरी अगाडि बढाएका छन्

अन्तरवार्ता राजनीति

नारायण दत्त भण्डारी डिभिजन प्रमुख काठमाडौं
डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायण दत्त भण्डारी एक अनुभवी र प्रतिबद्ध इन्जिनियर हुन्, जसले काठमाडौँको सडक पूर्वाधारमा उल्लेखनीय भूमिका खेल्दै सुधारको काम गरेका छन् । कास्की जिल्लाका भण्डारी निजामती सेवामा २०५३ सालमा प्रवेश गरेका थिए । भण्डारीले विभिन्न जिल्ला डिभिजन प्रमुखको भूमिकामा काम गर्दै आएका व्यक्ति हुन् । जुम्ला, पाल्पा, बागलुङ, रसुवा, नुवाकोट, मध्यपहाडी योजना कार्यालय, पर्वत, लहान हुँदै हाल डिभिजन सडक कार्यालय काठमाडौँमा २०७९ भदौ २६ गते गतेदेखि कार्यभार सम्हालेका छन् ।

उनै भण्डारीको नेतृत्वमा काठमाडौँ डिभिजन सडक कार्यालयले खाल्डाखुल्डी देखि सडक निर्माणका कामहरु सम्पन्न हुँदै आएका छन् । २०८० सालमा ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गरी १५,००० वर्गमिटर सडक मर्मत भएको छ । सडक मर्मत र रंगरोगनः ११२४६.२३ वर्गमिटर सडक टाल्ने, २२.४ किलोमिटर ओभरलेभ र ४५०० वर्गमिटर सडक रंगरोगन सम्पन्न गरेका छन् । सरकारी जग्गाको संरक्षणः पेप्सीकोला, सीतापाइला, र टेकु पचलीमा सरकारी जग्गाको संरक्षण र कम्पाउन्ड वाल निर्माण भएको छ । अशक्तमैत्री कार्यालयः डिभिजन प्रमुखको कार्यकक्ष अशक्तमैत्री बनाइएको छ । भण्डारीको नेतृत्वमा, काठमाडौंका सडकहरूमा उल्लेखनीय सुधार देखिएको छ, जसले राजधानीको यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको छ । उहाँको कार्यशैली र प्रतिबद्धता अन्य सरकारी निकायहरूको लागि पनि प्रेरणादायी भूमिका खेल्दै आएका छन् । उनीसँग विभिन्न सेरोफेरोमा तामाकोशी प्रतिनिधिले गरको कुराकानीको अंशः

० तपाईँ काठमाडौँ सडक डिभिजन प्रमुख भएपछि के कस्ता काम भएका छन् ?
डिभिजन सडक काठमाडौंमा मर्मत तथा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ । काठमाडौँका विभिन्न मुख्य सडकहरू—जस्तै महाराजगञ्ज, ठमेल, कोटेश्वर, बालाजु र गौशाला क्षेत्रमा खाल्डाखुल्डी हटाएर कालोपत्रे र मर्मतको गति बढाइएका छौं । वर्षौंदेखि बिग्रिएका सडकहरू पुनर्निर्माण गरिएको छ, जसले स्थानीय बासिन्दालाई सहज यात्रा सुविधा प्रदान गरेको छ । निर्माणको गुणस्तरमा सुधार गरेको छ । निर्माण सामाग्रीको प्रयोगमा कडाइ, नियमित प्राविधिक निरीक्षण, र थर्ड पार्टी परीक्षण प्रणालीलाई व्यवस्थित गरिएका छन् । सामानको गुणस्तर र समयमा सम्पन्नता सुनिश्चित गर्न ठेकेदारहरूमाथि निगरानी र कारबाहीको प्रक्रिया कडा बनाइएको छ ।

सडक योजना, ठेकेदारको विवरण, काम सकिने समय सीमा र लागतबारे सार्वजनिक सूचना बोर्ड टाँस्ने अभ्यासलाई व्यवस्थित गरिएको छ । नागरिक एप, फोन, वा प्रत्यक्ष गुनासो मार्फत आएका जनगुनासोहरूको सम्बोधन गर्न लागि परेका छौं । ट्राफिक व्यवस्थापनसँग समन्वय गर्दै आएका छौं । सडक निर्माण गर्दा वैकल्पिक मार्गको व्यवस्था, रातिको समयमा काम गर्ने अभ्यास, ट्राफिक प्रहरीसँग समन्वय गरेर ट्राफिक जाम न्यून गर्ने प्रयासहरू भइरहेका छन् । फुटपाथ र अशक्तमैत्री पूर्वाधारमा सुधार भएको छ । मुख्य सडकहरूमा फराकिलो फुटपाथ निर्माणको व्यवस्था, साइन बोड र जेब्रा क्रसिङ जस्ता संरचनात्मक सुधारहरू अघि बढाइएको छ । नागरिकमैत्री पूर्वाधारलाई योजनाको केन्द्रमा राखिएको छ । सडक खनेर काम गर्ने अन्य निकाय—जस्तै खानेपानी, टेलिकम, विद्युत् आदि—सँग पहिले नै समन्वय गरेर दोहोरो खर्च र अस्तव्यस्त हुने कामलाई घटाइएको छ । विनियोजित बजेटलाई प्राथमिकताका आधारमा सदुपयोग गरेर अधिकतम परिणाम ल्याउने प्रयास गरिएको छ । अलपत्र योजनाहरूलाई पुनः सक्रिय पार्ने पहल चालिएको छ ।

० हाल काठमाडौँ उपत्यकामा सडक मर्मत तथा निर्माणका के–के योजना सञ्चालनमा छन् ?
हाल काठमाडौँ उपत्यकामा सडक डिभिजन कार्यालयमार्फत विभिन्न मर्मत तथा सुधार योजनाहरू सञ्चालनमा छन् । प्रमुख योजनाहरूमा कालोपत्रे मर्मत, ग्राभेल बाटो सुधार, ढल निकास व्यवस्थापन, डिभाइडर निर्माण, ट्राफिक संकेत चिन्ह जडान, र सडकको ड्रेनेज सफाइजस्ता कामहरू समावेश छन् । उदाहरणस्वरूप, बालाजु–बाइपास सडक विस्तार, थापाथली–कुपन्डोल सडक सुधार, र महाराजगञ्ज–बुढानीलकण्ठ सडकको कालोपत्रे योजना अहिले सक्रिय छन् । यी योजनाहरू ट्राफिक सहजता, जनसुरक्षा, र वातावरणीय प्रभावकारीलाई ध्यानमा राखेर कार्यान्वयन गर्दैछौं ।

० आगामी आर्थिक वर्षको लागि सडक डिभिजन काठमाडौँले कुन–कुन विषयलाई प्राथमिकता दिएको छ ?
आगामी आर्थिक वर्षमा हामीले’सडक मर्मत तथा पूर्वाधार सुदृढीकरण’ लाई प्राथमिकतामा राखेका छौँ । खासगरी, पुराना, भास्सिएका र दुर्घटनाको जोखिम रहेका सडकहरूलाई दिगो रूपमा मर्मत गर्ने, ट्राफिक बिन्दुहरूमा सुधार ल्याउने, तथा स्मार्ट सिटी अवधारणाअनुरूप सूचना बोर्ड र साइनेजहरू स्थापना गर्ने योजना छ । यस्तै, जलनिकासी प्रणाली सुधार गरेर वर्षा याममा सडक डुबान समस्या न्यूनीकरण गर्ने योजनालाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।

० अलपत्र अवस्थामा रहेका सडक योजनाहरूको अवस्था कस्तो छ ?
केही सडक योजनाहरू समयमै सम्पन्न नहुनुमा विविध कारण छन्—जस्तै बजेटको अभाव र कामको ढिला सुस्ती, उपभोक्ता समितिहरूसँग समन्वय अभाव, तथा सार्वजनिक खरीद प्रक्रिया ढिलाइ । विशेष गरी साँघुरो बस्ती क्षेत्रमा सडक विस्तार कार्य स्थानीय जनसंख्याको असहयोग वा मुआब्जा सम्बन्धी विवादले गर्दा रोकिएका छन् । यस्ता अलपत्र योजनाहरूको कार्यान्वयनमा पुनः तीव्रता ल्याउने प्रयास भइरहेको छ ।

० चालु आवमा काठमाडौँ सडक डिभिजनलाई कति बजेट विनियोजन गरिएको छ? त्यो रकम कुन–कुन योजनामा खर्च भएको छ ?
चालु आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँ सडक डिभजनलाई करिब २ अर्ब ६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । सो बजेट नियमित मर्मत, नयाँ योजनाको निर्माण, आपतकालीन सडक सुधार, तथा कर्मचारी खर्चमा प्रयोग गरिएको छ । सबैभन्दा धेरै खर्च भएका योजनामा बानेश्वर क्षेत्रको सडक सुधार, गोंगबु–बाइपास सडक चौडाइ, र नागार्जुन क्षेत्रमा तटीय सडक सुधार कार्यमा खर्च भएको छ ।

० बजेट अभावका कारण रोकिएका कुनै महत्वपूर्ण योजना छन् भने के–के हुन्?
बजेट सीमितको कारण केही महत्वाकांक्षी योजना अहिले स्थगनमा छन् । जस्तै, गौशाला–चाबहिल सडकको दुई लेनबाट चार लेनमा विस्तार योजना बजेट नपुगेका कारण हाल अगाडि बढ्न सकेको छैन । त्यस्तै, सवारी पार्किङसहितको स्मार्ट सडक निर्माण योजना पनि हाल प्राथमिक चरणमै सीमित छ । यस्ता योजनाहरूलाई आगामी वर्षमा प्राथमिकताका साथ अघि बढाउने योजना छ ।

० वर्षातको समयमा सडक बिग्रने समस्या बारम्बार आइरहन्छ, सडक मर्मत गर्दा गुणस्तरमा ध्यान दिइएको छ कि छैन ?
सडकको गुणस्तर हाम्रो लागि मुख्य विषय हो । वर्षातमा सडक बिग्रनुका मुख्य कारणहरूमा निर्माण सामग्रीको गुणस्तर, जलनिकासीको कमी, र भारी सवारी चाप पर्दछन् । अहिले हामीले निर्माणमा प्रयोग गरिने बिटुमिन, ग्राभेल, र पिच सामग्रीको अनुगमन कडाइका साथ गरिरहेका छौँ । गुणस्तर सुनिश्चित गर्न त्रैमासिक प्राविधिक निरीक्षण तथा थर्ड पार्टी परीक्षणको व्यवस्था पनि गरिएको छ ।

० प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर कसरी सुनिश्चित गर्नुहुन्छ ?
सडक निर्माणमा प्रयोग गरिने सबै सामग्रीहरू प्रमाणित ल्याब परीक्षणको आधारमा मात्र प्रयोग गर्न अनुमति दिइन्छ । हाम्रा प्राविधिक इन्जिनियरहरूले निर्माण स्थलमा नियमित निरीक्षण गर्नेछन् । ठेकेदारले प्रस्तुत गरेको सामग्रीको स्याम्पल सरकारी वा निजी प्रमाणित प्रयोगशालामा परीक्षण गराउने प्रावधान पनि लागू गरिएको छ ।

० निर्माण कम्पनी वा ठेकेदारहरूको अनुगमन कसरी गरिँदैछ ?
अनुगमनको लागि तीन तहको संयन्त्र छ—डिभिजन कार्यालयको निरीक्षण टोली, प्रदेश मन्त्रालयको अनुगमन समिति, र केन्द्रीय स्तरको अनुगमन टोली । समय समयमा साइट भिजिट, प्रगति प्रतिवेदन विश्लेषण, र जनगुनासोहरूको आधारमा ठेकेदारको मूल्याङ्कन गरिन्छ । अनियमितता भेटिएमा काम रोकिने, धरौटी रोक्का हुने वा कालोसूचीमा राख्ने प्रक्रिया अपनाइन्छ ।

० समयमा काम नसकाउने वा गुणस्तरहीन काम गर्ने ठेकेदारहरूमाथि के कारबाही गरिएको छ ?
समयमै काम गर्न नसक्ने ठेकेदारलाई पहिलो चरणमा लिखित चेतावनी दिइन्छ । दोस्रो सम्झौता रद्द गरेर ठेक्का खारेज गरिन्छ । हालसम्म ४ वटा ठेक्का खारेज भइसकेका छन् र केही ठेकेदारहरूलाई आगामी बोलपत्र प्रक्रियाबाट बाहिर राखिएको छ । गुणस्तरहीन कामको कारण जनस्वास्थ्य वा यातायातमा असर परेको अवस्थामा तिनीहरूलाई क्षतिपूर्ति तिराउने पनि गरिएको छ ।

० सडक विस्तारको कारण उत्पन्न हुने ट्राफिक जाम समस्यालाई समाधान गर्न के योजना बनाइएको छ ?
सडक विस्तार र मर्मत कार्य गर्दा ट्राफिकलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने, राति काम गर्ने व्यवस्था मिलाउने, र ट्राफिक प्रहरीसँग समन्वय गरेर सिग्नल र ट्राफिक संकेतहरू प्रयोग गर्ने व्यवस्था गरिएको छ । यस्तै, निर्माण स्थलमा सूचना बोर्ड राख्ने र जनतालाई पूर्वजानकारी दिने अभ्यास पनि बढाइएको छ ।

० पैदलयात्री, साइकल यात्री वा अशक्तमैत्री पूर्वाधारको लागि के कस्ता प्रयासहरु भइरहेका छन् ?
हामीले नयाँ सडक योजनामा अशक्तमैत्री सुविधा (र्याम्प), जेब्रा क्रसिङ, ब्रेल साइनबोर्ड, साइकल लेन र फराकिलो फुटपाथको अवधारणा समावेश गरेका छौँ । दरबारमार्ग, ठमेल क्षेत्र, र बसन्तपुर क्षेत्रमा यस्ता विशेष सुविधाहरू लागू भइसकेका छन् र अन्य क्षेत्रहरूमा पनि क्रमशः विस्तार गरिँदै लगिएको छ ।

० काठमाडौँ महानगरपालिका र अन्य सरोकार निकायहरूसँग सडक योजनामा के–कस्तो समन्वय भएको छ ?
सडक योजनामा काठमाडौँ महानगरपालिका, खानेपानी विभाग, नेपाल विद्युत् प्राधिकरण, टेलिकम लगायत सरोकारवाला निकायहरूसँग पूर्वसमन्वय र संयुक्त कार्ययोजना तयार गरिन्छ । भौतिक पूर्वाधारको दोहोरो खनाइ रोक्नका लागि कार्य सुरु गर्नु अगाडि सबै पक्षसँग बैठक गरिन्छ ।

० खानेपानी, विद्युत्, टेलिकम लगायतका संस्थाहरूले सडक खनेर काम सकाएपछि पुनः मर्मत नगर्ने समस्याबारे तपाईंको धारणा के छ ?
यो समस्या निकै गम्भीर छ । हामीले यस्तो संस्थाहरूलाई कार्य सम्पन्न भएपछि यथास्थितिमा फर्काउने लिखित प्रतिबद्धता लिने गरेका छौँ । यदि यथास्थितिमा नफर्काएमा सडक डिभिजन आफैँले मर्मत गरेर त्यसको लागत सम्बन्धित निकायबाट असुल गर्ने व्यवस्था समेत गर्न लागि परेका छौं ।

० सडक सम्बन्धी सूचना नागरिकहरुलाई कसरी उपलब्ध गराइन्छ ?
हाल हामीले वेबसाइट, सूचना पाटी, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत योजना सार्वजनिक गर्ने अभ्यास गर्दैछौँ । निर्माण स्थलमा योजना विवरण, ठेकेदारको नाम, काम सकिने मिति, लागत लगायतका विवरण बोर्डमार्फत टाँस्ने अभ्यास पनि लागू गरेका छौँ ।

० सर्वसाधारणबाट आउने गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हाम्रो कार्यालयमा गुनासो दर्ता कक्ष छ, जहाँ प्रत्यक्ष रूपमा वा फोन÷इमेलमार्फत गुनासो दर्ता गर्न सकिन्छ । नागरिक एप तथा हेल्पलाइनमार्फत आएका गुनासोलाई पनि दैनिक समीक्षा गरेर कार्यान्वयन गर्ने प्रयास गरिन्छ । गुनासोको विषयमा गम्भीर भएमा निरीक्षण टोली खटाएर ७ दिनभित्र सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *