काठमाडौं । परराष्ट्र मन्त्रालयले एकै वर्ष सार्वजनिक खरिद नियमावली ऐन, २०६४ विपरीत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गरेको पाइएको छ ।
एक करोड भन्दा बढी रकम बराबरको अन्तर्राष्ट्रिय हवाई टिकट बोलपत्र आह्वान नगरी सिधै खरिद गरेको पाइएको हो । हाल नेपालमा विदेशमा ३१ दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी कुल ४१ वटा नियोग सञ्चालनमा छन् । ती नियोगमा कार्यरत कर्मचारीहरू तथा उनीहरूका परिवारका सदस्यहरू तथा परराष्ट्र मन्त्रालयबाट सरकारी भ्रमणमा खटिई जाने सरकारी पदाधिकारीहरूलाई परराष्ट्रले अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउने गर्छ । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न २०८० असार ६ गते बोलपत्र आह्वान गरेको थियो ।
खरिद सम्झौताका लागि २०८० भदौ १३ परराष्ट्रले पत्राचार गरेको देखिन्छ । खरिद सम्झौता भने २०८० भदौ २१ गते भएको थियो ।
खरिद सम्झौता ढिला भएको कारण देखाउँदै परराष्ट्र मन्त्रालयले २०८० साउन १ गतेदेखि २०८० भदौ २० गतेसम्म ६२ जनाको अन्तर्राष्ट्रिय हवाई टिकट एक ट्राभल एजेन्सीबाट सिधै खरिद गरेको देखिन्छ । परराष्ट्रले एक करोड १९ लाख ९८ हजारमा ती टिकट बोलपत्र आव्हानविना सिँधै खरिद गरेको पाइएको हो ।