काठमाडौं । मकैबालीमा फौजी कीराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् ।
फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी कीराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको कृषकहरुको भनाई रहेको छ । कीराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको छ ।
जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी कीराको समस्या देखिएको किसानको भनाइ छ ।
बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी कीराको समस्या देखिएको कारण कीराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्थामा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कीरा नियन्त्रणका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।