भारतमा मनसुन छिटै भित्रिँदा यस वर्ष नेपालमा पनि मनसुन छिटो हुने सम्भावना, सामान्यतया नेपालमा ११२ दिनसम्म मनसुन कायमै

विविध समाचार

काठमाडौं । भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि मनसुन भित्रिन ढिलो नहुने अनुमान मौसमविदहरुको रहेको छ ।

भारतीय मिडियाहरुका अनुसार भारतमा १६ वर्षयताकै छिटो मनसुन भित्रिएको समाचार प्रकाशित गरेका छन् । वर्षा भएका स्थानमा गर्मीबाट राहत मिल्दा हावाहुरीसँगैको वर्षाका कारण यातायात सेवा समेत प्रभावित भएको हो। भारतको मौसम विभागले मनसुन भारतको केरलामा प्रवेश गरेको र राजधानी नयाँदिल्लीसहितका विभिन्न ठाउँमा भारी वर्षा भएको जनाएको छ । भारतको मौसम विभागले २४/२६ मेसम्म भारी वर्षाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन भनेको छ ।

यसको प्रभावले नेपालका विभिन्न स्थानमा केही दिनयता दिनहुँ पानी परिरहेको छ ।तर अहिले पनि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ ।

यस वर्षको मनसुनमा नेपालमा वर्षा र गर्मी दुबै सरदरभन्दा बढी हुने आँकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ । बढी पानी पर्दा जनधनको क्षति हुने जोखिम पनि बढी हुने भएकाले पूर्वसतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *