काठमाडौं । उत्तर कोरियाले बुधबार नयाँ युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ ।
यो जानकारी उत्तर कोरियाको सरकारी मिडियाले दिएको हो। लगभग पाँच हजार टन तौल भएको यो जहाजको तल्लो भाग प्रक्षेपणको क्रममा भाँचिएको थियो। यसका कारण युद्धपोतको सन्तुलन बिग्रिएको थियो । युद्धपोतको प्रक्षेपणको क्रममा भएको घटनाको अनुसन्धान सुरु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण घटनालाई आपराधिक कार्य भएको बताउदै दोषीलाई सजाय दिने बताएका थिए ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले पक्राउ परेकाहरूमा उत्तर कोरियाको चोङजिन शिपयार्डका प्रमुख इन्जिनियरको रूपमा पहिचान गरेको छ । यो युद्धपोत चोङजिन शिपयार्डमा नै निर्माण गरिएको थियो । यसबाहेक, यस शिपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ ।
राज्य सञ्चालित मिडिया रिपोर्टका अनुसार, ती तीन जना दुर्घटनाको लागि जिम्मेवार रहेको ठहराइएको छ । स्याटेलाइट तस्बिरहरूले युद्धपोतलाई यसको छेउमा पल्टिएको, ठूला नीलो तिरपालले ढाकिएको र यसको एक भाग जमिनमा पल्टिएको देखिएको छ ।