काठमाडौं । नेकपा एमालेका नेता देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेको पनि वर्षदिन पुग्न लागेको छ । मन्त्री दाहालले आफ्नो कार्याकालको वर्षादिनमा कुनै ठोस काम गर्न सकेका छैनन् । वर्षयाम सुरु भएसँगै सडकहरु मर्मत संभार कार्यमा ढिलासुस्ती भइरहेको छ । उता, सडक विभागले वीपी राजमार्ग, कान्ति लोकमार्ग, त्रिभुवन राजमार्ग, पृथ्वीराजमार्ग र अरनिको राजमार्ग जस्ता सडकहरु समयमा मर्मत गर्न नसक्दा वर्षायाममा नचल्ने अवस्था सिर्जना हुँदै छ । एकातिर पर्याप्त मात्रामा बजेट नहुनु अर्कोतिर ठेकेदार कम्पनीहरुले काम सम्पन्न नगर्दा सडकहरु अलपत्र पर्ने देखिन्छ ।
गत असोज ११ र १२ गते गएको बाढीपहिरोले वीपी राजमार्गमा ठूलो क्षति पु¥याएको थियो । त्यो बाढीले जनधनसँगै भौतिक संरचनामा ठूलो क्षति गरेपछि त्यसको मर्मतसंभारको लागि सडक विभागले ९ अर्ब ५० करोडमा ठेक्का लगाएको थियो । सो ठेक्का लगाए तापनि वर्षायाम अगाडि सडक मर्मत सम्पन्न हुने देखिँदैन । वीपी राजमार्ग पुरै मर्मत गर्न दुई खर्ब, सत्तरी अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै अरनिको राजमार्ग पनि वर्षायाममा चल्ने सम्भावना कम रहेको छ । उता त्रिभुवन राजपथ, कान्ति लोकमार्ग जस्ता महत्वपूर्ण सकडहरु वर्षायाममा चल्ने सम्भावना कम रहेको छ ।
तर, सडक विभागले मर्मतमा तदारुकता देखाए तापनि वर्षायाममा ती सडकहरु सुचारु हुने देखिँदैनन् । त्यसैगरी पृथ्वीराजमार्ग मर्मतको लागि विश्व बंैकले ठेक्का लिए तापनि समयमा काम गर्न सकेको छैन । यी र यस्तै कारणले गर्दा सडकहरु वर्षायाममा सुचारु हुने सम्भावना न्यून रहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि यस्ता सम्वेदनशील विषयमा ध्यान दिन सकेका छैनन् ।
उल्टै सडक विभागको महानिर्देशक परिवर्तन गरेका छन् । तत्कालीन महानिर्देशक रामहरि पोखरेल र मन्त्री दहालबीच लामो समयदेखि टसल पर्दै आएको थियो । त्यसले गर्दा विगतका ठेकेदारहरुले निर्माण सम्पन्न गरिसकेको भुक्तानी पाएका थिएनन् । तर, सरकारले आर्थिक वर्षभित्रमा सो भुक्तानी गरिसक्ने भनेको छ । गत वर्षको भुक्तानी दिँदा चालु आ.ब.को विकास निर्माण ठप्प हुने देखिन्छ । त्यस्तै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग जस्ता राष्ट्रिय आयोजनाहरुको काममा पनि ढिलासुस्ती भइरहेको छ । कतिपय ठेक्का लागेका आयोजनाहरु पनि आर्थिक अभाव र निर्माण सामग्रीको अभावले गर्दा अलपत्र परिराखेका छन् । सडक विभागले बारम्बार ताकेता गरे तापनि निर्माण व्यवसायीहरुले काममा आलटाल गरेकाले सकडहरु समयमा बन्न सकेका छैनन् ।