सामाजिक न्यायकालागि महिला आत्मनिर्भर अभियान

राजनीति लेख समाचार

सम्पन्नता, भुगोल, लिङ्ग, शारिरीक अवस्था, उमेर, जात, शिक्षा समेतका आधारमा समाजमा २ वर्ग देखिन्छ । त्यस मध्ये एक वर्ग सशक्त छ भने अर्को वर्ग कमजोर छ । लैङ्गिक रुपमा हेर्ने हो भने पुरुष सवल छ महिला कमजोर देखिन्छ । कमजोरको पक्षमा काम गर्नु सामाजिक न्याय हो । लैङ्गिक रुपमा देखिएको विभेद कम गर्नकालागि भीमेश्वर नगरपालिकाले आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत हरेक वडामा मापदण्डका आधारमा यूवा उद्यमी महिलाहरु छनौट गर्ने र नेतृत्व क्षमता अभिवृद्धि गर्ने साथै उनीहरुले गरिरहेको कामलाई व्यवसायीकरण गर्ने सोच लिएको छ । यसकालागि छनौट भएका महिलालाई नेतृत्व क्षमता अभिवृद्धि गराउने र व्यवसाय केन्द्रीत गराउने चरणवद्ध तालिम सञ्चालन भैरहेको छ । पहिलो चरणको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न भैसकेको छ ।

मूल मर्म
भीमेश्वर नगर भित्र जनसंख्यामा महिलाको वढि छ तर नेतृत्वदायि भूमिकामा कम देखिएको छ । विहान सवेरै उठ्ने र सवै भन्दा पछि सुत्ने महिला तर उनीहरुको कामले पहिचान पाएको छैन । पैसा नआउने घरायसी काम मात्रै होइन पैसा आउने काम पनि गरेका छन् तर त्यसको प्रत्याभुति हुन सकेको पाइन्न । तथापी यस्ता काम जीवन निर्वाह भन्दा माथि हुन सकेको छैन । त्यसैले महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्दै समुदायमा रहेका विभिन्न संघसंस्था समूहमा नेतृत्व गर्ने र अहिले काम गरेकै कामलाई व्यवसायीकरण गरी उद्यमी वन्ने अनी पैसा समेत कमाउनु यस कार्यक्रमको मूल मर्म हो । व्यवसाय प्रवद्र्धनकालागि भीमेश्वर नगरपालिकाले हरेक सहभागीको खातामा न्युनतम् विउपुँजी अनुदान दिने कार्यक्रम समेत रहेको छ । यो रकम उत्प्रेरणाकालागि मात्र हो ।

अहिलेको अवस्था
भीमेश्वर नगरपालिकाले हरेक वडाबाट २० जना छनौट गर्ने कार्यविधि वनाएको थियो । छनौटको मापदण्ड तोकिएको थियो । तथापी १ सय ७७ जना मात्रै तालिममा सहभागी हुन सके । उनीहरुको अहिलेको अवस्थालाई स्वविश्लेषण गरे । उनीहरु संलग्न भएका सामुदायिक संस्थाहरु र उनीहरुको संलग्नताको विषय खोतले । आम्दानीका स्रोतहरु केलाए । १ सय ७७ जना मध्ये ८८ जना कुनै न कुनै नेतृत्व तहमा क्रियाशिल रहेको पाइयो । आर्थिक तथा नेतृत्व क्षमता विकासमा महत्वपुर्ण भूमिका खेल्ने सामुदायिक वन र सहकारी अभियानमा महिलाको संलग्नता राम्रो देखियो तर निर्णायक भूमिकामा कमजोर प्रतिनिधित्व रहेको पाइयो । १७७ मध्ये १६४ जना सामुदायिक वनका उपभोक्ता रहेको पाइयो । त्यसै गरी १६३ जना महिलाहरु विभिन्न सहकारी संस्थाको शेयर सदस्य रहेछन् । यस आत्मनिर्भर कार्यक्रममा सहभागी भएकाहरु मध्ये वडामा रहेका विभिन्न संघसंस्था वा संरचनामा अध्यक्षको भूमिका निर्वाह गरिरहेका ६ जना भेटिए । ६ जनाले नैं उपाध्यक्षको भूमिका निर्वाह गरेको पाइयो । त्यसै गरी १८ जना महिलाले सचिवको, ९ जनाले कोषाध्यक्ष र ४९ जना महिलाहरु कुनै न कुनै संस्थाको समितिमा सदस्य भैं क्रियाशिल भैरहेको पाइयो । यी मध्ये ७५ जनाले एसइइ वा सो भन्दा अध्ययन गरेका छन् ।

सपना
अहिलेको अवस्थाको चिरफार पश्चात अबको चाहानालाई सपनाको रुपमा चित्रण गरि आंकलन गरेका थिए । ६४ जनाले कुनै न कुनै संरचनाको अध्यक्ष वन्ने सपना बोकेका छन् । .११ जनाले उपाध्यक्ष, २९ जना सचिव, कोषाध्यक्ष २२ जना र ५१ कार्यकारी सदस्य बन्ने र समाजमा नेतृत्व गर्ने सपना वोकेका छन् । सपना मात्रै होइन प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

व्यवसाय तर्फ पनि महिलाहरुले आफैंले चयन गरेका छन् । प्रायः सवैले अहिलेकै व्यवसायलाई प्रवद्र्धन गरी थप कमाई गर्ने योजना तयार गरेका छन् । करिव डेढ दर्जन प्रकारका विभिन्न व्यवसायहरु छनौट गरेका छन् । धेरैको रोजाइ वाख्रा पालन परेको पाइयो । दोस्रो रोजाईमा तरकारी खेती देखियो । व्यवसायिक रुपमा बाख्रा पालन गर्ने ७६ जना महिला निस्किए भने तरकारी खेती गरी उद्यमी वन्ने ४० जनाको अठोट रहेको छ । तेस्रो रोजाईमा दुग्ध व्यबसायकालागि गाईभैंसी पालन गर्ने योजना तयार भएको छ । यो व्यवसाय रोज्नेको संख्या २० जना रहेको छ । केही फरक खालको व्यवसाय रोजेको पनि पाइयो । भीमेश्वर नगरपालिका वडा नं. ९ का एक महिलाले खरिढुँगाबाट विभिन्न उपयोगी सामाग्री वनाउने र वेच्ने व्यवसाय प्रवद्र्धन गर्ने योजना वनाउनु भयो । कुखुरा पालन, सिलाई कटाई, पार्लर, किवी खेती, कुटानी पिसानी मिल, प्लाष्टिकको विकल्पमा झोला निर्माण, धुप निर्माण जस्ता योजना समेत छनौटमा परेका छन् ।

प्रतिवद्धता सहितको अपेक्षा
९ वटै वडा महिलाहरुले आफ्नो नेतृत्व क्षमता अभिवृद्धि गर्ने र व्यवसायी वन्ने चाहाना निर्धारण गरे । त्यो प्राप्तीकालागि आफ्नो भूमिका निक्र्यौल गरे । यस क्रममा केही सवालहरु देखा पर्ने आंकलन गरे । ती सवाल सम्वोधनकालागि उपाय खोजे । आफुले मात्र सम्वोधन गर्न नसक्ने विषयहरुलाई सम्वन्धीत पक्षको सहयोगको अपेक्षा गरे । त्यसको सुरुवातकालागि सम्वन्धीत वडा अध्यक्षहरुलाई ध्यानाकर्षण पत्र नैं वुझाए । ती वुँदाहरुमा महिला आफैले गर्ने अठोटका वुँदाहरु समावेश छन् । यसमा वडा कार्यालयको सहयोगको अपेक्षा गरेका छन् । धेरै जसो कृषि व्यवसायसँग सम्वन्धीत भएकाले उत्पादनको बजारको अभाव देखिएको अवस्था चित्रण गर्दै स्थानीय सरकारसँग अपेक्षा गरेका छन् ।

चरिकोट आसपासका उत्पादकहरुले सातदोवाटो चोकमा निश्चीत घण्टा आफैं उपस्थीत भैै बेच्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । वडाले उत्पादकको कार्ड उपलव्ध गराउने सो वोकेर उत्पादक आफै सातदोवाटो चोकमा उपज विक्रि गर्दा उपभोगकर्ताले ताजा र सहजमूल्यमा पाइने अवस्था सिर्जना हुने उपाय देखाए । बजार क्षेत्रलाई अस्तव्यस्त वनाएकोमा त्यसलाई नियन्त्रणका उपाय दिएका छन् । प्राविधिक सेवा गोठ वारीमा नैं उपलव्धमा गराउन आग्रह गरेका छन् । वडा स्तरमा भएमा नियमित स्रोत भएका सामुदायिक संस्थाहरुमा नेतृत्वमा पहुँचकालागि सहयोग गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

समाज रुपान्तरणमा क्रियाशिल हुन महिलाहरुले प्रतिवद्धता जाहेर गरेका छन् । वाँदर लगायतका हानीकारक वन्यजन्तुले वाली विनास गरेकोले ती वन्यजन्तुको नियन्त्रणकालागि ठोस कदम चाल्न आग्रह गरेका छन् । वालि विमामा सहज र भुक्तानीमा सरलिकृत गराउन स्थानीय सरकारसँग अनुरोध गरेका छन् । व्यवसायमा लगानीको अभावलाई सम्वोधन गर्न वित्तिय संस्था र सामुदायिक वनहरुसँग समन्वकारी भूमिकाको अपेक्षा गरेका छन् । योजनाहरु छनौट गर्दा उत्पादन वढाउने रोजगारी सिर्जना गर्नेलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

अन्त्यमा, समाजमा रहेका कमजोरको पक्षमा काम गर्नु भनेको सामाजिक न्याय हो । पुरुष र महिलाको तुलना गर्दा महिला कमजोर छन् । महिलाको नेतृत्व क्षमता अभिवृद्धि र उद्यमशिलतामा सँगसँगै काम गर्नु यो कार्यक्रमको मूल मर्म हो । यसमा भीमेश्वर नगरपालिकाले गौरबको योजनाको रुपमा स्वीकार गरी यो अभियान सञ्चालन गरिरहेको छ । अघिल्लो नगरसभाबाट पारित गरेको कार्यक्रम भए पनि यसको सुरुवात गर्न धेरै ढिला भएकोले उपलव्धी कति आउने हो भविष्यको पोल्टामा छ । तथापी समाज तथा राज्य संरचनामा देखापरेको सामाजिक न्यायको सवालमा प्रश्न गर्न सक्ने जुझारु महिला तयार भएका छन् । उनीहरु मार्फत सामाजिक रुपान्तरण हुने आश गर्न सकिन्छ । तालिम प्राप्त महिलाहरुले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धन र नेतृत्व क्षमता अभिवृद्धिमा सवै क्षेत्रबाट सहयोग तथा सहकार्यको आवश्कता रहेको छ । यो कार्यक्रम मात्रै नभई अभियानका रुपमा स्वीकार गरिनु पर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *