स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौं विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसका लागि काठमाडौं विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ थियो ।

बैठकले विश्वव्रिद्यालयसभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्वानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा डा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम, मनोचिकित्सक अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय र धुलिखेल अस्पतालबीच सहयात्राका नयाँ खाका बैठकले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ । दुई संस्थाबीचको आपसी समस्याबारे गत माघ ४ गतेको सभा बैठकमा समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले दिएको प्रतिवेदन पारित भएको हो । नयाँ खाका अनुसार दुई संस्था आपसमा सहयात्राबाट अलग हुन चाहेमा एकले अर्कोलाई ६ वर्ष अगाडि जानकारी दिनुपर्ने लगायतका व्यवस्था गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *