काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई ‘एक घर, एक फिल्टर’ अवधारणा लागू गर्दै ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ ।
गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यता भएकोले स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको हो। नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा अब २६ घरका सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी कम्तीमा पनि २० वर्षसम्म शुद्व पानी पिउन पाउने भएका छन् ।
खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरपालिकाले जानकारी दिएको हो । गाउँभन्दा करिब आठ सय मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।

