तिन तहको राज्य संरचना मध्ये संघीय सरकारले आफनो नीति कार्यक्रम र बजेट जारी सक्यो । त्यसै गरी प्रदेश तहले पनि नीति तथा कार्यक्रम सम्वन्धीत संसदमा पेश गरे । बजेट पनि असार १ गते नैं संसदमा पेश भयो । अव असार १० गते भित्र सवै स्थानीय तहले नीति कार्यक्रम र बजेट समेत ल्याइ सक्नु पर्ने छ । अहिले स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरु आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम र बजेट वनाउन जुटीरहेका छन् । यसै क्रममा विभिन्न तहमा परामर्श छलफलहरु भैरहेका होलान् । सम्वन्धीत अधिकारवाला तथा सरोकारवालाहरुले पनि स्थानीय तहको नीति कार्यक्रम र बजेट आउनु पर्ने विषयका सुझावहरु दिइरहेका होलान् ।
भीमेश्वरको कोशिस
आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम र बजेट समावेश गर्ने योजना छनौटकालागि वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु वस्ती तहमा पुगिरहेका छन् । त्यसै गरी नगर स्तरीय विभिन्न संरचनाहरुले पनि आफ्ना सुझाव दिने काम गरि रहेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाम पनि विभिन्न परामर्शीय छलफल कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । यसै सिलसिलामा जेठ ३० गते नगर भित्रका सामुदायिक वनका पदाधिकारीहरुको सामुहिक भेला गरिएको थियो । सो भेलाबाट भीमेश्वर नगरपालिकाले आगामी वर्ष सञ्चालन गर्नु पर्ने कार्यक्रम र नीतिकाबारेका केही सुझावहरु दिए । उनीहरुले सुझाव मात्र दिएनन् । आफ्ना प्रतिवद्धताहरु समेत जाहेर गरेका छन् । सामुदायिक वनहरुको छाता संस्था फेकोफन दोलखा र सव डिभिजन वन कार्यालय भीमेश्वरले सामुदायिक वन र स्थानीय तह विचको समन्वय वैठक राखेका थिए । सो वैठकबाट सामुहिक प्रतिवद्धता सहितको केही सहकार्यको अपेक्षा गरिएको छ ।
भीमेश्वरमा सामुहिक अठोट
सामुदायिक वन र स्थानीय सरकार विचको समन्वय वैठकमा भीमेश्वर नगर प्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, वडा अध्यक्ष तारानाथ चौलागाई लगायतका जनप्रतिनिधिहरुको उपस्थीति रहेको थियो । त्यसै गरी डिभिजनल वन अधिकृत कृष्णराज न्यौपाने सहितको टिम, फेकोफन दोलखाका अध्यक्ष जगन्नाथ वस्नेत लगायतका पदाधिकारीहरु, भीमेश्वर भित्र रहेका सामुदायिक वनहरु मध्ये २५ वटा सामुदायिक वनका अध्यक्षहरुको सहभागीता रहेको थियो । छलफलको विषय केन्द्रीत गर्न ३ वटा संक्षिप्त प्रस्तुतीहरु गरिएको थियो । ती प्रस्तुतीहरुमा भीमेश्वरमा वन र सामुदायिक वनको अवस्था एवं भएका कामहरु, स्थानीय सरकार र सामुदायिक वनसँगको सहकार्यका क्षेत्रहरुका बारेमा चर्चा गरिएको थियो । त्यस पश्चात सवै सामुदायिक वनका पदाधिकारीहरुले पालैपालो आफना विचारहरु राखेका थिए । यसै क्रममा भीमेश्वर नगर प्रमुख, उपप्रमुख र डिभिजनल वन अधिकृत र फेकोफन दोलखाका अध्यक्ष समेतले आआफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
समन्वय वैठकमा उपस्थीत भएका सवैको सामुहिक छलफलबाट केही साझा प्रतिवद्धता तयार भए । ती वुँदाहरुमा वनको दिगो व्यवस्थापन गर्न र सो कोलागि प्रकृयागत वन कार्ययोजना तयारी र कार्यान्वयनमा सवै क्षेत्रले सहकार्य गर्न प्रतिवद्धता जाहेर भएको छ । विकास र पर्यावरणलाई सन्तुलनमा राख्न र विकासले सिर्जना भएका विपद् जोखिम न्यूनीकरणका उपायहरु खोजी गर्ने र प्राथमिकता दिने कुरामा साझा मत तयार भएको छ ।
दोलखा जिल्ला र भीमेश्वर नगरपालिकामा कृषि र पर्यटन प्रमुख क्षेत्र भएकोले सो क्षेत्रमा योजनावद्ध काम गर्ने यसकालागि सामुदायिक वन र स्थानीय सरकार विच सहकार्यमा काम गर्ने, सामुदायिक वन क्षेत्रमा पर्यटन विकाससँग सम्वन्धीत कुनै सरकारले कुनै योजना सञ्चालन गर्दा सम्वन्धीत सामुदायिक वन उपभोक्ता समूहहरुसँग सहकार्य र अगुवाईमा गर्ने अठोट व्यक्त भएको छ ।
विरुवा लगाउँदमा वहुउपयोगी विरुवालाई जोड दिने, सामुदायिक वनको मूल मर्म अनुसार सामुदायिक वन सञ्चालन गर्ने र समावेशी एवं सुशासनयुक्त सामुदायिक वन वनाउनकालागि अठोट गरिएको छ । सामुदायिक वनको मूल मर्म भन्नाले संरक्षण, सदुपयोग र विपन्न वर्गको सशक्तिकरण हो । त्यो तर्फ सामुदायिक वनहरु केन्द्रीत हुने प्रतिवद्धता जाहेर गरिएको छ ।
वनबाट प्राप्त हुने आम्दानीको कम्तीमा २५ प्रतिशत वन विकासमा नैं खर्च गर्ने वाँकी रकमको कम्तीमा आधारकम महिला सशक्तिकरण, उद्यम विकास र गरिवी न्यूनीकरणमा खर्च गर्ने । उद्यम तथा सामुदायिक विकासमा सामुदायिक वन र स्थानीय सरकार लागत साझेदारी गर्ने, सामुदायिक वन क्षेत्र र समुदाय क्षेत्रमा कुनै विकास निर्माणका काम गर्दा स्थानीय सरकारले अस्थायी प्रकृतिका उपभोक्ता समिती नवनाई सामुदायिक वन मार्फत कामहरु गर्ने र विकासको आधार इकाई सामुदायिक वन उपभोक्ता समूहहरुलाई मान्ने अठोट व्यक्त गरिएको छ ।
भीमेश्वर भित्र प्रयोग हुने वनजन्य सामाग्रीहरुको प्रयोग गर्दा स्थानीय उत्पादन (फर्निचर समेत) प्राथमिकता दिने सहमती भएको छ । वडागत रुपमा सामुदायिक वनहरुको नेटवर्किङ्ग गर्न र यसमा वडा कार्यालय सहकार्य गर्ने प्रतिवद्धता जाहेर भएको छ । स्थानीय तहमा अर्थात भीमेश्वर नगरपालिका भित्र वन, वातावरण तथा पर्यटन शाखा बनाउने र सो शाखामा सम्वन्धीत विषयमा जानकार मानविय स्रोतको व्यवस्था गरी नगर भित्रका कामहरु प्रभावकारी वनाउने र सामुदायिक वनहरुलाई आवश्यक पर्ने सेवा प्रवाह गर्ने र समन्वयको काम गर्ने अठोट जाहेर गरिएको छ ।
अन्त्यमा, भीमेश्वर नगर क्षेत्रका सरकारी तथा गैरसरकारी निकायहरुको सामुहिक छलफलबाट केही साझा सोच तयार भएको छ । ती सोचहरुलाई भीमेश्वर नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश हुने अपेक्षा गरिएको छ । । सामुदायिक वनहरुले पनि स्थानीय सरकारसँगको दोहोरो सहकार्यमा वढाउने खाल्का केही केही नयाँ कार्यक्रमीक योजनाहरु भीमेश्वर नगरको बजेट आउने आशा पलाएको छ । नगरपालिकाको वृहत्तर योजनामा हरेक सामुदायिक वनहरुले योगदान पु¥याउने छन् । त्यसै गरी भीमेश्वर नगरपालिकाले पनि सामुदायिक वनहरुलाई विकासको वाधकको रुपमा नहेरी सहयोगी रुपमा लिनेछ ।
भीमेश्वर नगर भित्रका सवै सरकारी कार्यालयमा प्रयोग हुने फर्निचरहरु सवै स्थानीय उत्पादन प्रयोग हुने नगरपालिकाको नीति तथा कार्यक्रम आउने छ । त्यसै गरी सामुदायिक विकासमा सामुदायिक वन र स्थानीय सरकार बीच लागत सहकार्य गर्ने परिपाटी विकास हुन सकोस् । सामुदायिक वनले गर्ने विकास पनि नगरको विकास हो अनी नगरबाट हुने हरेक कामहरु नागरिकलाई नैं हुने हो । त्यसैले सामुदायिक वन र स्थानीय सरकार बिच समन्वय, सहकार्य र सहअस्तीत्वको सम्वन्ध जरुरी हुन्छ ।

