काठमाडौं । अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीकै नियति भोग्दैछन्,एक सहसचिव । बरिष्ठताका हिसाबले पहिलो नम्बरमा परेर पनि तारान्तार सरकार प्रमुख केपी शर्मा ओलीबाट पेलानमा पर्दा उनी बढूवाबाट छुट्दै आएका थिए । पाँचौ पटकसम्म पनि बढुवामा छुट्दै आएका गोकर्णमणि दुवाडी अन्तिममा स्वत बढूवा भएका थिए । त्यतिखेर केपी शर्मा ओली प्रधानमन्त्री थिए । दुवाडी पाँच पटकसम्म सिफारिस गरिँदा तीन पटक उनको सिफारिस मन्त्रिपरिषद्बाटै फिर्ता भएको थियो । लोकसेवाले २०७६ माघमा पहिलो नम्बरमा रामशरण पुडासैनी, दोस्रो नम्बरमा अर्जुन पोखरेल र तेस्रो नम्बरमा दुवाडीको नाम सिफारिस गरेको थियो । जहाँ बढूवा सिफारिस भएका पुडासैनी सचिव बढुवा भए ।
त्यसको केही समयपछि दोस्रो नम्बरमा रहेका अर्जुन पोखरेललाई सरकारले सचिव बनायो । आफूभन्दा दुवै वरिष्ठ सहसचिव भएपछि सचिवका लागि एक्लो दाबेदार भए । उनको पहिलो नम्बरमा नाम आएपछि तीनवटा त मन्त्रिपरिषद्बाट सो फाइलै फिर्ता भयो । बरु दुवाडीभन्दा कनिष्ठ मानबहादुर विक र विष्णु नेपाल हुँदै मधुकुमार मरासिनी,चन्द्रमान श्रेष्ठ,वीरबहादुर राईहरु सचिव भए । आज उनीहरु सबै घर गइसकेका छन् । समयचक्रले ओली सत्तामा हुँदा उनै ओलीले नरुचाएका पात्र दुवाडी बर्ष दिनदेखि गृहसचिवको भूमिकामा छन् ।
उक्त बढुवामा विभेदको यति ठूलो पर्खाल खडा गरियो कि सरकार विधि, पद्धति, प्रणाली स्थापित गर्न होइन, लत्याउन उद्यत छ भन्ने प्रष्टै बुझ्न सकिन्छ । दुवाडीको भन्दा पछिल्लो सूचीमा नाम रहेका वीरबहादुर राईलाई लगतै लोकसेवा आयोग, मानबहादुर बि.केलाई विश्वविद्यालय र विष्णु नेपाललाई गण्डकी प्रदेश लोकसेवा आयोगतिर नियुक्ति समेत दिइएको छ ।
अहिले उसैगरी बढूवामा विभेदमा परेका छन्,एक सहसचिव डण्डुराज घिमिरे । उनीभन्दा कनिष्ठहरुलाई धमाधम सचिवमा उकालेर ओली सरकारले विधि,पद्धति,प्रणाली लत्याइरहेको आरोप लगाउँछन् कर्मचारीहरु । अघिल्लो पटक भुपाल बराल र यस पटक ओली सरकारले खगेन्द्र प्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको छ । भुपाल वरालका दाजु काँग्रेसका तर्फबाट जनप्रतिनिधि,आरजु राणा नजिक भएका कारण उनलाई माथि लगिएको हुन सक्छ । सोमबार बसेको क्याविनेटले एक महिना पछाडि घर जान लागेका सहसचिवलाई सचिवमा उकालेको छ ।
सुवेदी बरियतामा तेस्रो नम्बरमा छन् । यदी उनको ठाउँमा डण्डुराजलाई सचिव बनाएको भए उनी सहसचिवबाटै घर जान्थें । अहिलेसम्म डण्डु चौथो पटक बढूवामा सिफारिस भएर सहसचिवमै खुम्चन विवश छन्,उनलाई ओली सरकारले अर्काे गोकर्णमणि बनाउन लागेको चर्चा चल्न थालेको छ,कर्मचारी प्रशासनमा । सरकारले जति नै बल गरेर रोके पनि उनी अर्काे पटक स्वत सचिवमा उक्लनेछन् । पाँच पटकसम्म सरकारले तीन जना सहसचिवमध्येबाट एक जनालाई सचिवमा उकाल्छ भने छैटौं पटक एकल सिफारिसमात्र हुन्छ र स्वत सचिव बढुवा हुनसक्नेछन्,डण्डु पनि सोही पथमा पुगेका छन् ।

