ग्वार्कोको ओभरपास निर्माण सम्पन्न, शुक्रबार प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरी सवारी आवागमनमा खुला गर्ने तयारी

विविध समाचार

काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा शुक्रबारदेखि सवारी गुड्न पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर सवारी आवागमनका लागि खुला गर्ने तयारी रहेको जानकारी दिएको छ । गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । ग्वार्को चोकमा बनेको पुल मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ ।

१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । ओभरपासको संरचना निर्माणको काम सकिएपछि ८ जेठदेखि कालोपत्रको काम सुरु भएको थियो । मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *