काठमाडौं । धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीलाई आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।
विद्यालय तह कक्षा ८ देखि १० सम्म ‘दलित अभियन्ता जुठे दमाइ छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ । यो कार्यक्रमअन्तर्गत विद्यालय तहमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरुलाई वार्षिक दुई हजार रुपैयाँसम्मको स्टेश्नरी सामग्री निःशुल्क उपलब्ध गराइने उपमहानगरपालिकाले जनाएको हो ।यस्तै ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने दलित छात्राहरूकै लागि ‘दलित अभियन्ता टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ ।
यो कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ देखि स्नातक तहसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनरत दलित छात्राहरुलाई उच्च शिक्षा प्राप्तिमा सहयोग गरिनेछ। यसले दलित समुदायका विद्यार्थीहरूलाई प्रोत्साहन दिने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने नगर प्रमुख गोपाल हमालले बताएका छन् ।
आमा शिक्षित भएमा परिवार, समाज र राष्ट्रकै समग्र विकासमा योगदान पुग्छ भन्ने विश्वासका आधारमा दलित छात्रा लक्षित योजना ल्याएको हो । यसले सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ । शिक्षा, युवा तथा खेलकुद विकाससम्बन्धी कार्यनीतिअन्तर्गत बहुपक्षीय साझेदारीमार्फत लोककल्याणकारी उपमहानगरको परिकल्पना साकार पारिने जनाइएको छ। खासगरि समाजमा पछाडि पारिएका वर्गको शैक्षिक पहुँच अभिवृद्धि गर्न उपमहानगरले दुईवटा विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नेछ।

