काठमाडौं । अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिए लगत्तै नयाँ पार्टीको घोषणा सञ्जाल प्लेटफर्म एकसमा जानकारी दिएका हुन् । यद्यपी ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् भने अर्कोतर्फ पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।
मस्कले एक्समा एक पोल गरेका थिए । जसमा उनले तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ ? भन्ने प्रश्न सोधेका थिए । सो पोलमा ६५.४ प्रतिशतले दल खोल्नुपर्छ भन्ने मत दिएका थिए भने ३४.६ प्रतिशतले हुदैन भन्ने मत दिएका थिए ।
मस्कले भनेका छन्,‘ अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ, अमेरिकाका दुबै दल (रिपब्लिकन र डेमोक्र्याट) एउटै हुन् । अब देशले दुई दलीय प्रणालीबाट स्वतन्त्रता पाउनेछ ।’
मस्कको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनले ल्याएको ‘बिग ब्युटिफुल बिल’ मा विवाद भएको थियो ।