काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्।
कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ–५ स्थित चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जान लागेका हुन् ।
यो सँगै देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना पूरा हुने भएको छ । यो सडक सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।
यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ ।
यस ऐतिहासिक अवसरका लागि प्रधानमन्त्री ओली आज हुम्ला पुगेका हुन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयका अनुसार, प्रधानमन्त्रीले बिहान ११ बजे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।