निकुञ्ज भित्र रहेको जिल्ला सदरमुकाम ‘धुञ्चे’ पुग्दा

राजनीति लेख

असार महिनाको तेस्रो साता काठमाडौं बाहिर जाने मौका मिलेको छ । नुवाकोटको सदरमुकाम विदुरमा ३ दिने जलवायु उत्थानशिल क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको थियो । यो कार्यशाला स्थानीय सरकार, प्राकृतिक स्रोतमा आधारित महासंघ, स्थानीय समुदायहरुकालागि आयोजना भएको थियो । हरित जलवायु कोषको सहयोगमा नेपालका १९ जिल्लामा ‘गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना’ अन्तरगत यो कार्यशाला आयोजना भएको थियो । यसको व्यवस्थापन तथा आयोजना समुदायमा आधारित वन सहजकर्ता सञ्जाल र राष्ट्रिय प्रकृती संरक्षण कोष सहकार्यमा भएको थियो । नुवाकोटको ३ दिने कार्यक्रम सकेर रसुवामा पनि सोही कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यशाला सञ्चालनको सन्दर्भमा रसुवाको धुञ्चेमा २ दशक पछि पुग्न र केही दिन वस्ने र संवाद गर्ने मौका मिल्यो ।

संझनामा धुञ्चे
रसुवामा पहिलो पटक २०५६ सालमा पुगेको थिएँ । त्यतीबेलामा म फेकोफनको सहजकर्ता पदमा कार्यरत थिएँ । फेकोफनको रसुवामा कुनै संरचना बनेको थिएन । त्यस कार्यमा सहजिकरण गर्न मलाई फेकोफनले खटाएको थियो । फेकोफनका तत्कालिन अध्यक्ष हरिप्रसाद न्यौपानेले सम्पर्क व्यक्ति भनेर वा भेट्न भनेर तत्कालिन जिल्ला विकास समितिका सभापति भीमलाल हिराचनको नाम दिनु भएको थियो । अहिले जस्तो मोवाइल थिएन । जिविस कार्यालयमा फोन त थियो होला त्यो नम्वर पनि पाइएन । न्यौपाने २०४९ सालको तत्कालिन जिल्ला विकास समिति भोजपुरका उपसभापति हुनु भएकोले सायद हिराचनसँग सम्पर्क थियो होला । हिराचान पनि २०४९ सालमा जिविस रसुवाको उपसभापति नैं हुनुहुन्थ्यो ।

कुन महिना थियो, विर्सें । विहानैं काठमाडौंको वालाजु माछापोखरीमा पुगेको थिएँ । गाडी चढें । भिडभाड थियो । ककनी हुँदै अगाडी वढियो । गाडीको गति धिमा थियो । बाटो विदुरसम्म त ठिकै थियो । त्यस पछि विजोग थियो । तर नयाँ जिल्ला भएकोले दृश्वालोकन गर्दै बेलुका साँझ धुञ्चे पुगेको याद छ । मैले भेट्नु पर्ने सभापतिको बजारमा घर छ भन्ने थाहा भएकोले सोध्दै गएँ । भेट भयो । उहाँको आफ्नै होटल रहेछ । त्यही बसें । असाध्यै जाडो थियो । तत्कालिन जिविस सभापतिसँग कुराकानी गरें । आफ्नो खास उद्देश्य बताएँ । उहाँले तत्कालिन जिविस सदस्य विष्णु पौडेललाई सम्पर्क व्यक्ति तोकि दिनुभयो । भोली पल्ट विष्णु पौडेलसँग भेट भयो । केही अरु व्यक्तीहरुसँग भेट भयो । फेकोफनको जिल्ला तदर्थ समिति वनाउने सहमती गरी फर्किएको थिएँ ।

त्यस पछि २०६३ साल तिर गएको थिएँ । त्यो बेलामा तत्कालिन जिल्ला वन कार्यालयमा एक वैठक गरी फर्किएको थिएँ । त्यसको लगत्तै एक तालिमको प्रयोगात्मक अभ्यासकोलागि डाडाँगाउँ अहिलेको उत्तरगया गाउँपालिकामा गैं केही दिन बसेको थिएँ । त्यो बेला धुञ्चे आएको जानु परेको थिएन । हुनत ७ वर्ष अघि पनि आएको थिएँ तर रात परे पछि आएर बास मात्र बसेर विहानैं फर्किएको थिएँ । त्यसैले धुञ्चेलाई केही थप नियाल्ने मौका २ दशक पछि अहिले पाएको छु ।

विदुरबाट धुञ्चे तिर
विदुर स्थित सुखद पाहुना घरबाट हामी धुञ्चे तिर लागेका थियौं । हिड्ने बेला व्यापक पानी परेको थियो । तर रसुवा जिल्ला लागे पछि पानी परेको आभास नैं भएन । वेत्रावती हुँदै कालिकास्थान पुग्यौं । वेत्रावती हिन्दुको धार्मिक स्थल हो । जसलाई उत्तरगयाबाट परिचित छ । त्यहाँ पितृको श्राद्ध गर्ने चलन छ । यहि ठाउँको नामबाट उत्तरगया गाउँपालिकाको नामाकरण पनि भएको छ । हामी कालिकास्थानमा केही बेर चियाकालागि रोकियौं । त्यती बेलासम्म साँझ परिसकेको थियो । हामी राम्चे हुँदै धुञ्चे पुग्दा साँझ साढेआठ बजिसकेको थियो । हामी बस्ने निर्धारण गरेको होटल सनसाइन थियो । बेलुका अबेर पुगेकोले वाहिर जाने सन्दर्भनैं आएन । खाना खाइयो । सुतियो ।

धुञ्चेमा डुल्दा
भोलीपल्ट विहानै बजार हेर्न निस्किएँ । मेरो मनमा दुई दशक अघि र अहिलेको धुञ्चेको परिवर्तन हेर्न मन थियो । पहिलो पटक धुञ्चे आउँदाका केही दृश्य मेरो मानसपटलमा ताजै थियो । पहिले र अहिलेको तुलना गर्न मन थियो । पहिलो पटक यहाँ आउँदा म बसेको होटल घरको अनुमान गर्ने कोशिस गरें । मूल सडकको तल्लो साइड तर्फ अन्नपूर्ण नाम गरेको होटल देखें । म पहिलो पटक आउँदा बसेको होटल यहि जस्तो लाग्यो । पछि जानकारलाई सोधें । मेरो अनुमान सहि रहेछ । अझै अगाडी वढें । मेरो मानसपटलमा भएको भन्दा भौतिक पूर्वाधार फरक थियो । सडक कालोपत्रे थियो । घर ठुला थिए । प्राय सवै घरजसोमा होटल व्यवसाय देखिन्थ्यो । घरहरु चिटिक्क रंङ्गरोगन थियो । वजारको छेउ केही पर पुगि फर्कें । फर्केर वजारको अर्को टुप्पो तिर पुगें । बास बसेको होटलमा फर्किएँ । हामी ३ नैं जनाले घोटेको कफि खाने सल्लाह भयो । ३ जना तिन थरीको कफि अर्डर ग¥यौं । मैले कालो चिनी नहालेको खाने, सुदिल सर दुध भएको कफि तर चिनी नभएको, विना श्रेष्ठले चिनी, दुध, कफि सवै हालेको खाने । हामी ३ जना कफि पिउन खोज्दा त एउटै नहुँदो रहेछ । यो समाज र मुलुक चलाउन पक्कै सजिलो छैन भन्ने महसुस समेत गरियो ।

कफि पश्चात हामी ३ नैं जना वजार घुम्न निस्कियौं । बजारको नजिककै एक ठुलो ढुङ्गा माथि वुद्धको मुर्ति वनाएको राम्रो संरचना रहेछ । सडकको माथिल्लो भागमा ठाडै उकालो चढ्नु पर्ने तर सिढि रहेको । हामी त्यहाँ चढ्यो । रहर पुग्ने गरी फोटो खिच्यौं । त्यही केहि समय विताएर फर्कियौं ।
कार्यशालाको पहिलो दिन । रसुवा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, डिभिजन वन कार्यालय, निकुञ्ज कार्यालय, निफिन, फेकोफन, कफ्सन, सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सहभागी र कार्यक्रमको परिचयबाट सुरु गरियो । जलवायु परिवर्तनको अवधारणा र दिगो वन व्यवस्थापनका सन्दर्भमा छलफल गरियो ।

रसुवाका फरक विशेषता
रसुवा जिल्लामा ५ वटा स्थानीय तह रहेका छन् । सवै गाउँपालिका हुन् । रसुवा नगरपालिका छैनन् । यहाँ उत्तरगया, कालिका, गोसाईकुण्ड, नौकुण्ड र आमाछोदिङमो गाउँपालिका रहेछन् । आमाछोदिङमो गाउँपालिकाको नाम २०७४ सालको स्थानीय तहको निर्वाचन पछि राखिएको रहेछ । २०७३ सालमा राज्यपुर्नसंरचना हुँदा पार्वतीकुण्ड गाउँपालिका नामाकरण भएको रहेछ । जिल्ला भरमा २७ वटा वडाहरु रहेका छन् । ति मध्ये ९ वटा वडाहरु मात्रै निकुञ्ज तथा मध्यवर्ति क्षेत्र वाहिर रहेका छन् । जिल्ला सदरमुकाम रहेको क्षेत्र ‘धुञ्चे’ पनि पनि निकुञ्जको कोर क्षेत्र भित्र पर्दोरहेछ । सिन्धुपाल्चोक, नुवाकोट र रसुवा समेत समेटिएको लामटाङ राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय यहि रहेको छ ।

रसुवाको सदरमुकाम धुञ्चे बजार नैं लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्दो रहेछ । धुञ्चे बजारको नीजि लालपुर्जा भएको जग्गा मध्यवर्तिको र वाँकी निकुञ्ज क्षेत्रको मानिंदो रहेछ । रसुवाको सदरमुकाम धुञ्चे वजार गोसाईकुण्ड गाउँपालिका भित्र पर्दछ तर यसको केन्द्र भने धुञ्चेमा छैन । गोसाईकुण्ड गाउँपालिकाको केन्द्र भने स्याफ्रु भन्ने स्थानमा रहेको छ । स्याफ्रु भन्ने स्थान धुञ्जे बजारबाट करिब १६ किलोमिटरको दूरीमा पर्दछ । डिभिजन वन कार्यालय धुञ्चेमा छ तर वन कार्यालयको नियमन भुगोल धुञ्चे होइन ।

बागमती प्रदेशका १३ वटा जिल्ला मध्ये नगरपालिका नभएको जिल्ला यो मात्र हो । यस जिल्लाको सदरमुकाम धुञ्चे हो । त्यो नैं लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्नु अर्को अनौठो विषय हो । त्यती मात्रै हैन धुञ्चे बजार गोसाईकुण्ड गाउँपालिका भित्र पर्दछ । तर पालिकाको केन्द्र चाँही धुञ्चे बजार होइन । छैन त फरक खालको विशेषता रसुवाको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *