काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।
बुधबार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिएका हुन् ।
मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताएका छन् ।
नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ । उनले मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्थामा सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको जानकारी दिएका छन् ।
रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण संकलन भईरहेको छ । अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनको भनाई रहेको छ । गृहमन्त्री लेखकले मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई सक्रियतापूर्वक क्रियाशिल गराएको थिए । घटनापश्चात तत्काल विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, केन्द्रीय कमाण्ड पोष्ट र मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कक्षलाई पूर्ण क्रियाशिल रहेको थियो ।
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद् सम्बन्धी समय–समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकको भनाई रहेको छ ।
