काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि नयाँ नियम लागू गरेको छ ।
अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो।
अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने भनेको हो । यस्ता वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयको भनाइ छ। त्यस्तै परिचय झल्किने पोसाकमा समेत प्रतिबन्ध लगाइएको छ ।
कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको हो । कार्यालयले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोध गर्दै यदि नियम उल्लङ्घन भएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।

