काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनसुनपछि आउन सक्ने विपदपछिको राहत तथा उद्धारमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी भएको बताउँदै पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल गरेको हो ।
मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठुलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको तथा मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सवैजना थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको रास्वपाले जनाएको छ ।

