राष्ट्रसेवक ईं गणेशराज वस्तीको ‘सूक्तिसङ्ग्रह’ सार्वजनिक

कला-साहित्य समाचार

 दिनेश महर्जन

नेपाली लेखन फाँटमा साहित्यिक एवम् साहित्येत्तर सिर्जनाका लागि आफ्नो अलग स्थान बनाउन सफल ई. गणेशराज वस्तीको तेह्रौँ कृति ‘सूक्तिसङ्ग्रह’ हालै प्रकाशनमा आएको छ ।

‘सूक्ति’को शाब्दिक अर्थ हुन्छ– सारपूर्ण वा उद्धरणीय कथन, महावाणी, मीठो वा मधुर बोली ! यसबाटै अनुमान लगाउन सकिन्छ सर्जक ई. वस्तीको ‘सूक्तिसङ्ग्रह’ अवश्यमेव सारयोग्य, ग्रहण गर्नलायक अभिव्यक्तिहरूको एक सङ्ग्रहको रूपमा पाठकसमक्ष आएको छ । सूक्तिसङ्ग्रहका बारे आफ्नो मन्तव्य दिँदै प्रा.डा. वासुदेव त्रिपाठीले भन्नुभएअनुसार ‘वस्तुतः सूक्ति वा सूक्तिएकाइ पढ्दा वा सुन्दा कसैबाट सिधै या अलि घुमाउरो गरी अनि प्रायः अरुलाई वा आफूलाई सम्बोधित गरिएको हुन सक्ने लाग्ने खास कुनै वर्णन, संवाद या आत्मालापजस्तो र अलि अन्तर्नाटकीयजस्तो पनि गरी बताइएको र सुनाइएको खास कुनै हितकारी र मार्मिक किसिमको अलिकति शिक्षा या उपदेशजस्तो पनि लाग्ने अनि बढीमा अनुक्रमिक एकदुई या तीनचार रन्को अनुगंज समेटिएको एक निकै सानो वा छोटो–लघुतम्) र निकै गहकिलो अनि प्रेरणास्पद भाषिक गद्यात्मक अतिसंक्षिप्त तर अतिसशक्त सूत्रात्मक उक्ति, कथन, सङ्कथन या अभिव्यक्ति नै त हो !’ मानिस जन्मेर हुर्किंदै जाँदा अनेक सिकाइ–बुझाइका साथ अनुभवहरू सँगाल्दै जान्छ ।

जीवन बिताएको हरक्षण वा वातावरणले व्यक्तिभित्र विचार–दर्शन तथा दृष्टिकोण सिर्जना गर्दछ । मनमा उब्जिएका यस्ता कुरा अभिव्यक्त गर्नका लागि परापूर्व कालदेखि नै श्रुतिपरम्परा चल्दै आएको छ भने पछिल्लो समयमा रेडियो, टिभी, युटुबदेखि शोधपत्र, पत्रपत्रिका, पुस्तक आदि माध्यम बन्दै आएका छन् । पछिल्लो चरणमा फेसबुक, ट्वीटर, इन्स्ट्रग्राम आदिमा लेखेर आफ्ना विचारहरू सार्वजनिक गर्ने प्रचलन प्रखर हुँदै आएको छ । यसैक्रममा वरिष्ठ इन्जिनियर र कुशल तथा निष्ठावान् प्रशासक÷व्यवस्थापक समेत रहेका लेखक वस्ती पनि खासगरी फेसबुकमार्फत आफ्ना सारगर्वित विचार, दृष्टिकोण, मनोभावहरूलाई सटिकरूपमा सार्वजनिक गर्ने पात्रमध्येका एक सशक्त पात्र बनेर देखापरे । फेसबुकमार्फत उनले सार्वजनिक गर्ने ‘सूक्ति’लाई सँगालेर पुस्तककै रूपमा प्रकाशन गर्न लेखकलाई प्रेरणा प्राप्त भयो रयतिबेला हाम्रो हातमा ‘सूक्तिसङ्ग्रह’ आइपुगेको छ ।

‘सूक्तिसङ्ग्रह’मा जम्मा पन्ध्र खण्डमा करिब सातसय पचास वटा सूक्तिहरू छन् । लेखकले आफ्ना स्वस्फुटित विशिष्ट भनाइ, दृष्टिकोण र विचारको कथन वा लेखनलाई नै सूक्ति मानी तिनको सञ्चयन गरेको बुझिन्छ, जसअनुसार खास भनाइमार्फत् व्यक्तिने सूक्तिरचना सूक्तिकारका विशिष्ट दृष्टिकोण वा विचारको अभिव्यक्ति हो भन्ने स्पष्ट हुन आउँछ । ‘आन्तरिक कलहले प्रगतिको हुर्मत लिन्छ’ भन्ने सूक्तिबाट शुरुभएको सूक्तिसङ्ग्रहको मैझारोचाहिँ ‘आजको युगमा कसैले कसैलाई खेताला सम्झन्छ भने त्यस्ताको मेलो सदैन’ भन्ने पङ्क्तिबाट गरिएको छ । पुस्तकभित्र रोचक, घोचक, प्रेरणास्पद, ज्ञानवर्द्धक सबै खालका सूक्ति समेटिएका छन् । हरवर्गका पाठकका लागि ई. वस्तीको चार सय पच्चिस रुपैयाँ मूल्य तोकिएको ‘सूक्तिसङ्ग्रह’ उपयोगी सावित हुने आँकलन गर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *