काठमाडौं । बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन उच्च अदालतको फैसलासँगै विस्तारको बाटो खुलेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो ।
आयोजनाको काम ६ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बिस्तार आयोजनाले बताएको छ । हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ । हालसम्म पाँच हजार रूख काटिएका छन् भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।

