काठमाडौं । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आजदेखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
आफूहरूलाई स्थानीय तहबाट प्रदेश तथा संघीय सेवामा समायोजन गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले आन्दोलन चर्काएका हुन् । स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति, सुदूरपश्चिम प्रदेशले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहका स्वास्थ्यकर्मीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि तीन तहका सरकारबाट समस्या समाधानका लागि चासो नदेखाइएको आरोप लगाएको छ ।
सुदूरपश्चिम प्रदेशले हालै जारी गरेको स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ मा भएका कतिपय प्रावधानको विरोधमा स्वास्थ्यकर्मीहरूले बन्द आह्वान गरेका हुन् ।
सो ऐनको दफा ९ को उपदफा ४ मा राखिएको समायोजन ऐन २०७५ बमोजिम संघीय सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीको सेवा अवधि यस ऐन प्रारम्भ हुँदाका बखत ५ वर्ष सेवा अवधि पूरा भएको भए एक पटकका लागि एक तह वृद्धि गरिने छ भन्ने प्रावधान राखिएको छ ।
स्वास्थ्यकर्मीहरुले सो प्रावधानको विरोध गरेका हुन् ।

