काठमाडौं । नेपाल प्रकृतिको वरदान हो । पर्यटनको विकास, प्रचारप्रसार र संस्कृतिको जगेर्ना गर्नु मुलुकको समृद्धिको आधार पनि हो ।
विश्वमा कतिपय यस्ता मुलुकहरु छन् जसको अर्थतन्त्र पर्यटनमै निर्भर छ । तर प्रकृत्तिको अपरम्पार वरदान भएको मुलुक नेपाल गलत नेतृत्वका कारण हरेक क्षेत्रमा निकै कमजोर बनेको छ । पछिल्लो समय पर्यटनका नाममा राष्ट्रिय निकुञ्ज, संरक्षित तथा आरक्ष क्षेत्र तथा हिमाली तालतलैया क्षेत्रहरुमा जथाभावी होटल रेस्टुरा खोल्न दिइएको छ । सार्वजनिक क्षेत्रमा थैली हात पारेर सहजै होटल रेस्टुरा सञ्चालन गर्न दिइएको गुनासो पछिल्लो समय बढ्दै गइरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ, रसुवाको गोसाइकुण्ड, सगरमाथा आधारशिविर, रारालगायतका क्षेत्रहरुमा प्राकृत्तिक सम्पदाको अतिक्रमण गरेर अव्यवस्थित होटल तथा रेस्टुराहरु चलाइएको छ ।
पर्यटनका नाममा जथाभावी शुल्क असुल्ने समूहहरु पनि उत्तिकै परिचालित छन् । व्यवस्थापनको जिम्मा लिएको भनेर शुल्क उठाउने र सरकारलाई निकै कम राजश्व बुझाउने यस्ता समूहका विरुद्ध बोल्ने आ“ट पनि कसैले गर्न सक्दैन । नेपालमा विदेशी पर्यटकहरु नेपालको मनोरम दृश्यको अवलोकन गर्न, हिमाल चढ्न आउने गर्दछन् । यस्ता पर्यटकहरुमाथि पनि उच्च मूल्य लिएर होटल तथा रेस्टुराहरुले ठगीधन्दा चलाइरहेका छन् । अझ यस्ता पर्यटकीय क्षेत्रभित्र रक्सी, जुवातास, क्यासिनोसमेत सञ्चालन गरेर अवैधधन्दा चलाइरहेको गुनासो पनि बढ्दै गइरहेको छ । यस्तो कार्यमा स्थानीय निकायका जनप्रतिनिधि तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकृतहरुको पनि मिलेमतो रहेको देखिन्छ ।
पर्यटन क्षेत्रमा व्यवसायीहरुले पर्यटकहरुलाई दुख दिने काम पनि गरिरहेका छन् । सरकारले पर्यटन क्षेत्रलाई बेवास्ता गर्दै आइरहेको छ । विश्वमा नेपाल उत्कृष्ट प्राकृतिक वरदानमध्येको एक मुलुक हो । तर पर्याप्त पूर्वाधार तथा सडक विकासको अभाव, पर्यटकीय मनोरञ्जनका क्षेत्रहरुको विकासमा सरकारको बेवास्ता, पर्यटन व्यवसायीको कमाउ मानसिकता र कर्मचारीहरुको भ्रष्ट व्यवहारका कारण पर्यटन क्षेत्र उदाउन नसकेको हो । भ्रष्ट मोहमा परेर प्रकृतिलाई छेडखानी गर्नेगरी अनुमति दिने कर्मचारीहरु तथा स्थानीय जनप्रतिनिधि र ठगीधन्दा चलाउने पर्यटन व्यवसायीलाई नियन्त्रण गर्न सरकार कठोर बन्न जरुरी छ । राष्ट्रिय निकुञ्जबाट लोपोन्मुख वन्यजन्तुहरुको छाला तथा अभिन्न अंगहरु खुलेआम चोरी भइरहन्छ । त्यसैले, सार्वजनिक जग्गा हडपेर होटल रेस्टुरो चलाउने, गलत कार्य गर्ने, पर्यटकलाई ठग्ने र व्यवसाय चलाउन अनुमति दिने जोकोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्न जरुरी देखिन्छ ।
