पर्यटनको नाममा सार्वजनिक सम्पत्ति दोहन

राजनीति समाचार

नेपाल प्रकृतिको वरदानसँगै पर्यटन पनि एउटा वरदान हो। प्रकृति र पर्यटनको प्रचारप्रसार र संस्कृतिको जगेर्ना गर्नु मुलुकको लागि समृद्धिको आधार पनि हो । विश्वमा कतिपय यस्ता मुलुकहरू छन् जसको अर्थतन्त्र पर्यटनमै निर्भर छ । तर प्रकृत्तिको वरदान भएको मुलुक नेपाल गलत नेतृत्वका कारण हरेक क्षेत्रमा निकै कमजोर बन्दै गएको छ । पछिल्लो समय पर्यटनका नाममा राष्ट्रिय निकुञ्ज, संरक्षित तथा आरक्ष क्षेत्र तथा हिमाली तालतलैया क्षेत्रहरूमा जथाभावी होटल रेस्टुरा खोल्न दिइएको छ ।

सार्वजनिक क्षेत्रमा थैली हात पारेर सहजै होटल रेस्टुरा सञ्चालन गर्न दिइएको गुनासो पछिल्लो समय बढ्दै गइरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ, रसुवाको गोसाइकुण्ड, सगरमाथा आधारशिविर, रारालगायतका हिमाली क्षेत्रहरूमा प्राकृत्तिक सम्पदाको अतिक्रमण बढ्दो छ । त्यस्ता ठाउँहरूमा अव्यवस्थित तरिकाले होटल तथा रेस्टुराहरू चलाई रहेको पाइन्छ ।

पर्यटनका नाममा जथाभावी शुल्क असुल्ने समूहहरू पनि उत्तिकै परिचालित छन् । व्यवस्थापनको जिम्मेवारी लिएको पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्जले पर्यटकहरूसँग महँगो शुल्क उठाउने र सरकारलाई निकै कम राजस्व बुझाउने को बिगबिगी बढेको छ । यस्ता समूहका विरुद्ध बोल्ने आँट पनि कसैले गर्न सक्दैन । नेपालमा विदेशी पर्यटकहरू नेपालको मनोरम दृश्यको अवलोकन गर्न, हिमाल चढ्न आउने गर्दछन् । यस्ता पर्यटकहरूमाथि पनि उच्च मूल्य लिएर होटल तथा रेस्टुराहरूले ठगीधन्दा चलाइरहेका छन् । अझ यस्ता पर्यटकीय क्षेत्रभित्र रक्सी, जुवातास, क्यासिनोसमेत सञ्चालन गरेर अवैधधन्दा चलाइरहेको गुनासो पनि बढ्दै गइरहेको छ ।

कतिपय स्थानीय निकायका जनप्रतिनिधि तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकृतहरूको पनि मिलेमतो रहेको देखिन्छ । पर्यटन क्षेत्रमा व्यवसायीहरूले पर्यटकहरूलाई दुख दिने काम पनि गरिरहेका छन् । सरकारले पर्यटन क्षेत्रलाई बेवास्ता गर्दै आइरहेको छ । विश्वमा नेपाल प्राकृतिक र सांस्कृतिकले वरदान पाएको मध्येको एक मुलुक हो । तर पर्याप्त पूर्वाधार तथा सडक विकासको अभाव, पर्यटकीय मनोरञ्जनका क्षेत्रहरूको विकासमा सरकारको बेवास्ता, पर्यटन व्यवसायीको कमाउ मानसिकता र कर्मचारीहरूको भ्रष्ट व्यवहारका कारण पर्यटन क्षेत्र उद्वार बन्न सकेको छैन । भ्रष्ट मोहमा परेर प्रकृतिलाई भजाई खानेहरूको ताँती त्यत्तिकै छ ।

अनुमति दिने कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधि र ठगीधन्दा चलाउने पर्यटन व्यवसायीलाई नियन्त्रण गर्न सरकार कठोर बन्न जरुरी छ । राष्ट्रिय निकुञ्जबाट लोपोन्मुख वन्यजन्तुहरूको छाला तथा अभिन्न अंगहरू खुलेआम चोरी, तस्करी भइरहेको छ । त्यसैले, सार्वजनिक जग्गा हडपेर होटल रेस्टुरो चलाउने, गलत कार्य गर्ने, पर्यटकलाई ठग्ने र व्यवसाय चलाउन अनुमति दिने जोकोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्न जरुरी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *