काठमाडौं । काठमाडौं महानगरपालिका न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् ।
बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका हुन् । लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।
पछि विश्वास बहुउदेश्यीय सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरु पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
अनुसन्धान अधिकारीहरुको अनुसार बचकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् । उनीहरूले १५ बचतकर्ताको चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

