काठमाडौं । तानसेनमा आज ऐतिहासिक भगवती रथयात्रा हुँदैछ ।
बुटवलको जितगढी युद्धमा तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई हराएको सम्झनामा आज २०६ औं विजयोत्सव तथा भगवती रथयात्रा हुन लागेको हो । सोही अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
किंवदन्तीअनुसार तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय प्राप्त गरे भगवतीलाई तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। युद्ध जितेपछि विसं १८७७ बाट विजय उत्सवका रूपमा भगवती जात्रा मनाउन थालिएको र सो परम्परा निरन्तर चल्दै आएको समितिले जनाएको छ।
स्थानीय बासिन्दा र भक्तजनको सहभागितामा निकालिने यस रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार गर्ने मात्र नभई धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।

