काठमाडौं । भूमि सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको दुई पटक गरी डेढ वर्षभन्दा माथि भइसकेको छ । तर, सो अवधिमा मन्त्री अधिकारीले राम्रो काम गरेको पाइँदैन । उल्टै अधिकारीलाई कर्मचारी सरुवा बढुवा र लेनदेनमै डेढ वर्षे कार्यकाल बिताएको आरोप लागिरहेको छ । नलागोस् पनि किन, भूमि सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत पर्ने मालपोत र नापी कार्यालयमा कर्मचारी सरुवामा व्यापक चलखेल भएको आरोप लागिरहँदा दोहोरिएर उनै अधिकारी मन्त्री भइरहेका छन् ।
भूमि तथा अभिलेख विभागको महानिर्देशकमा शिवप्रसाद रेग्मी रहेका छन् । रेग्मीलाई मन्त्री अधिकारीले थपनाको रुपमा महानिर्देशक बनाएका थिए । नापी र मालपोतका सबै काम मन्त्रालयको निर्देशनमा हुने गरेको छ । त्यसको उदाहरण लिन सकिन्छ ललितपुर मालपोत कार्यालयलाई । ललितपुर मालपोत प्रमुख अधिकृत जीवन सेढाईँलाई हटाएर ५० लाख असुलेर बीरगञ्ज मालपोतबाट अशोक कुमार भट्टराईलाई ल्याइएको छ ।
भट्टराई पहिला पनि ललितपुर मालपोत अधिकृत भएर तर मारेका व्यक्ति हुन् । भट्टराईलाई पुनः ललितपुर ल्याउनुको कारण ५० खालको खेलोफड्को भएको स्रोतको दावी छ । त्यसैगरी धनुषा मालपोतबाट सरुवा गरेर माधव घिमिरेलाई भक्तपुर मालपोत प्रमुख बनाइएको छ । त्यसैगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा गोर्कमणि दुवादी सचिव हुँदा पेलिएका रविन ढकाललाई २० लाख लिएर कलंकी मालपोत कार्यालयमा पठाइएको छ । साँखु मालपोतमा भीमकान्त पौडेललाई लाने तयारी भइरहेको छ । पौडेल सामान्य प्रशासन मन्त्रालयको स्थानीय कर्मचारी प्रशासन शाखाका प्रमुख हुन् ।
पौडेल साँखु मालपोत तथा स्थानीय तहको कुनै मालदार ठाउँमा जान खेलोफड्को गरिरहेका छन् तर मोलमोलाइ मिलिसकेको छैन । यी सबैको सेटिङ मिलाउने काम विचौलिया प्रमोद खड्काले गरेका छन् । यो सबै सेटिङ एक महिना अगाडि चन्द्रागिरी हिल्समा मन्त्री अधिकारी, खड्का र मन्त्रीका छोरा बसेर डिजाइन बनाउने खेलो भएको थियो । त्यसलगत्तै नेपालगञ्जहुँदै भारतको देहरादुनमा गत असार २४ गते घुम्न गएका थिए । त्यो सबै खर्च विचौलिया खड्काले गरेका थिए । मन्त्रीका छोरा मनोज अधिकारी सबै सेटिङहरुमा अगाडि नै थिए ।
पोखराको एक सय ३४ रोपनी जग्गा हिनामिनाको अडियो काण्ड बाहिर आएलगत्तै सो पोल खुल्ने डरले मन्त्रीका छोरा मनोज अधिकारी जुलाई अर्थात् साउन ९ गते नर्वेतिर गएका छन् । अर्कोतर्फ भक्तपुर नापी कार्यालयका प्रमुख डा. प्रदीप सापकोटालाई सरुवा गरेर मन्त्रीको जिल्ला कपिलबस्तुका नापी प्रमुख जनक भण्डारीलाई भक्तपुर नापीमा ल्याउने चेलखेल भइरहेको छ ।
तयसमा मोलतोल मिलेको छैन । त्यसैगरी लगनखेलका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीलाई हटाएर नापी विभागमा दरबन्दी राखेर पाल्पा नापी कार्यालयमा रहेका पूर्ण पाण्डेलाई लगनखेल नापीमा लयाउने तयारी हुँदै छ । संघीय मामिला तथा सामान्य प्रशासन शाखामा बस्ने कर्मचारीहरु प्रायःजसो मालदार अड्डामा जाने गरेका उदाहरण प्रशस्तै छन् ।

