अर्थमन्त्री पौडेल र विश्व बैंक दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

अर्थ/वाणिज्य समाचार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको हो ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताएका थिए । उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसिप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादात्म्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताएका थिए ।

उनले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्‍याउने बताए । उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *