रामचन्द्र बस्नेत
देशमा ब्याप्त भ्रष्टाचार बढेको र सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्द लगाएको विषयलाई लिएर जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनले हिंसा निम्त्याएको छ ।
सो हिंसात्मक गतिविधिबाट मुलुकलाई जोगाउनको लागि सरकार, सुरक्षा निकाय, प्रदर्शनकारी, राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, लेखक, साहित्यकार, प्रध्यापक, शिक्षक, विद्यार्थी, वकिल, मानवअधिकारवादी र आमजसमुदाय लगायत सम्पूर्णले संयमता अपनाउन जरुरी छ । प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ताहरुले पनि राष्ट्र र राष्ट्रियताको लागि संयमता अपनाउनुपर्ने भएको छ ।
लोकतान्त्रिक विधि र शासनप्रणाली भएको मुलुकमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई छ । जेन–जी पुस्ताले सो अधिकारको उपयोग गर्दै शान्तिपूर्ण ढंगबाट समस्याको समाधान गर्नेतिर लाग्नुपर्छ । शान्तिपूर्ण विरोध प्रदर्शनबाट पनि अधिकार सुनिश्चित हुन्छ । अस्ति सोमबार नयाँबानेश्वरमा भएको विरोध प्रदर्शनमा सुरक्षा निकायको असावधानीको कारण देशमा जनधनको क्षति भएको छ ।
सुरक्षाकर्मीको असावधानीको कारणले हिजो मंगलबार विरोध प्रदर्शनले हिंसात्मक मोड लिएको छ । व्यक्तिगत र सरकारी भौतिक संरचना भत्काएर नेपाल र नेपालीको कदाचित हित हुँदैन । बरु उल्टै विदेशी शक्तिहरुले नेपालमा खेल्ने मौका पाउँछन् । त्यसकारणले पनि नेपालीहरुले संयम अपनाएर देश र जनताको लागि एक हुन आवश्यक भएको छ ।
देशमा आइपरेका समस्या समाधानको लागि वार्ता र छलफल अपरिहार्य छ । त्यसबाट राज्यलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ । विश्वसामु नेपाल र नेपालीहरुको गरिमा घट्न पुगेको छ । विश्वले नेपाललाई शान्तिको प्रकृतिक मानेको छ । त्यसले गर्दा पनि हामी नेपालीहरु संयम भएर शान्तिपूर्ण ढंगले अधिकार सुनिश्चित गर्नु उपयुक्त हुन्छ ।
विरोधको लागि विरोध मात्रै नगरी निश्चित विषयमा वार्ताबाट समाधान खोज्नुपर्छ । हिंसात्मक गतिविधिबाट प्राप्त गरेको उपलब्धीले सार्थकता पाउँदैन । त्यसको उदाहरण हिजोका दिनमा देखिएको छ । त्यसले गर्दा जुनसुकै राजनीतिक दल स्वतन्त्र विचार राख्नेहरुले शान्तिपूर्ण ढंगबाट अधिकार खोज्नुपर्छ । राष्ट्रिय सम्पत्ति नष्ट गरेर राष्ट्रवादी ठहरिँदैन । त्यसैले पार्टी कार्यालय, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सरकारी कार्यालयहरुमा आगजनी गरेर समस्याको समाधान हुँदैन । त्योसँगै विश्वसामु नेपाल र नेपालीले आफ्नो देशको सुरक्षा आफैंले गर्नुपर्छ । देशका भौतिक संरचना सखाप पारेर कदापी बहादुरी सावित हुँदैन । सबैंले संयमता अपनाऔं ।

